पुर्व मन्त्री विक्रम पाण्डेलगायत २१ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, सिँचाई आयोजनामा करोडौँ हिनामिना गरेको आरोप

diyopost.com
Diyo post  शुक्रबार, मंसिर २१, २०७५ | १७:०४:०६

काठमाडौं, मंसिर २१ । बाँकेको सिक्टा सिँचाई आयोजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
आयोगले आठ अर्ब भष्टाचार गरेको भन्दै अलग अलग विगो कायम गरि मुद्दा दर्ता गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोजचन्द्र पण्डित सहित १६ कर्मचारी विरुद्ध मुद्दा दायर भएको हो ।

सिंचाई आयोजनाको मुल नहर निर्माणमा गुणस्तरहीन काम गरि भ्रष्टाचार गरेको आयोगको ठहर छ । मुल नहर सुरु नहुँदै परिक्षणको क्रममा करिब ३५ किमि नहर कामै नलाग्ने गरि भत्किएको थियो । नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा आयोगले छानविन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरुको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पाण्डेसहित कन्सल्टेन्ट उद्धवराज चौलागाई, चार आयोजना प्रमुख रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको हो । आयोजनाको नहर बनाउने ठेक्का पाएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका मालिक पूर्व मन्त्री प्रमुख पाण्डे विरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।

कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

सम्बन्धित खबर