भरत केसी/निरु गौतम
बुटवल, मंसिर २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम वुद्धका विचार विश्वभरि नै लोकप्रिय भएको बताएकी छिन् । लुम्विनी वौद्ध विश्वविद्यालयको १४ औँ बार्षिकउत्सवको विशेष समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार सर्वत्र लोकप्रिय बनेको बताएकी छिन् । साथै उनले सम्पुर्ण नेपालीलाई उहाँको उपदेश र मार्गदर्शनलाई स्विकार गरी अगाडी बढ्नसमेत आह्वान गरेकी छिन् ।
अहिलेको समयमा गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्विकार तथा अनुशरण गरि शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवर्धन गर्न आवश्यक रहेको औँल्याएकी छिन् । उनले बौद्ध शिक्षामा गुणस्तर कायम गरि वौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धालाई सुदृढ बनाउँदै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझै बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमुलक बनाउने राज्यको नीति रहेको बताइन् ।
उनले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको बताएकी छिन्
बुद्ध जन्मस्थल लुम्विनीलाई सुन्दर पर्यटकिय नगरको रुपमा थप विकास गर्दै ओझेलमा परेका भाषा र संस्कृतीको उत्खनन् गरि राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली पहिचान कायम गर्न आवश्यक रहेको बताएकी छिन् ।