मध्य भोटेकोशीको ज्यादती : विद्यार्थीले भने – हाइड्रोको लागि हामीले पढ्न नपाउने हो ?

दियो पोस्ट  

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै अहिलेसम्मको ठूलो जलविद्युत आयोजना मध्य भोटेकोशीले स्थानीयसँग गरेको प्रतिवद्दता कार्यान्वयन गर्नुको सट्टा प्रशासनको आडमा पेल्ने गरेको स्थानीयवासीले बताएका छन् । ५ बर्षअघि आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका ५ मार्मिङको सवैभन्दा ठुलो विद्यालय बनाउने सम्झौता अझै कार्यान्वयन गरेको छैन । आयोजना निर्माणमा हुने विस्फोटक पदार्थ तथा असावधानीका कारण पढ्न समस्या भएपछि विद्यार्थीहरुको एउटै प्रश्न छ- हाइड्रोको लागि हामीले पढ्न नपाउने हो ?’

आयोजनाको मुख्य प्रभावित तथा ड्याम बस्ने मार्मिङका ३२ घरपरिवारले अझै सम्झौता अनुसार काम भएको छैन भने स्वास्थ्य चौकी र कृषि भबन बनाउने सम्झौता अझै कागजमै सीमित छ । २०७० मंसिर १४ गते आयोजनाको ड्यामसँगै जोडिएको धनेश्वर मावि भवन निर्माण देखि आयोजनाको काम सञ्चालन गर्दा बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिने सम्झौता भयो । तर भूकम्पले भत्किएको विद्यालयको भुईमा बस्न बाध्य विद्यार्थी नै आयोजनालाई प्रश्न गरिरहेका छन्- सम्झौता भएको ५ बर्षमा हाम्रो विद्यालय किन बनेन ? आयोजनाका कारण हामीले पढ्नै नपाउने हो ? जस्ता प्रश्न गर्दै विरोधमा उत्रिएका छन् ।

आयोजना सुरु गर्दा ४ सय विद्यार्थी रहेको यो विद्यालयमा अहिले मुस्किलले १ सय ५० जना विद्यार्थी छन् । विद्यालको आँगनमै आयोजना जोडिएको र ठुलो आवाजका साथ ब्लास्टिङ गर्दा धेरै विद्यार्थी आत्तिएरै विरामी पर्ने गरेको विद्यालयले जनाएको छ । कति विद्यार्थीको कानमा समस्या देखिसक्यो भने केही विद्यार्थी डरले विद्यालय नै आउने छोडिसके- विद्यालयका प्रअ बलराम खरेलले भने । प्रअ जस्तै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष सिद्दिबहादुर श्रेष्ठको पनि दुखेसो उस्तै छ ।

आयोजनाले ५ बर्ष अगाडी विद्यालय बनाइदिने र आयोजनामा काम गर्दा बालबालिकाको स्वास्थ्य र शिक्षामा ध्यना दिने प्रतिवद्दता गर्यो । तर अहिले खुलमखुल्ला विस्फोटक पदार्थ पड्काउने तथा ढुङगाले विद्यार्थीलाई समेत चोट लाग्ने गरेको बताए । ५ बर्षदेखी यही समस्या हुदाँ आधा विद्यार्थीले विद्यालय छोडेसके । यसबारे न शिक्षा कार्यालय गम्भिर छ न जिल्ला प्रशासन कार्यालयले आयोजनासँग पहल गरेको छ । हामीले भन्दा आयोजना सुन्दैन बरु उल्टै प्रशासन लगाएर तह लगाउने धम्की दिदै आएको श्रेष्ठले बताए । विद्यार्थीले विभिन्न प्ले कार्ड सहित सम्झौता कार्यान्वयन गर्न र आफ्नो अधिकारको रक्षाका लागि आयोजनाको ड्याम साइड अगाडी विरोध गरे ।

आयोजना सम्पन्न भैसक्नुपर्ने अवस्थामा बल्ल ३० प्रतिशत काम सकिएको छ । सन् २०१३ मा निर्माण सुरु भएको यो आयोजनामा २०१७ को जुनमा सक्ने लक्ष्य थियो । तर भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण देखाउदै आयोजना पन्छिने गरेपनि ब्यवस्थापीय काममा साह्रै सुस्त भएको स्थानीय वुद्दिजिवी बताउँछन् आयोजनाले स्थानीयसँग सम्झौता गर्ने तर पूरा नगर्ने र प्रशासनको आडमा जर्वरजस्ती गर्न नहुने स्थानीयवासीको भनाई छ ।  सन् २०१९ को जुनमा सक्नुपर्ने भएपनि आयोजनाको गति हेर्दा अझै केही बर्ष लाग्ने देखिन्छ ।

TATA ADD