भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई म्याग्निफाइड चस्मा लगाएर हेरिदिन प्रधानमन्त्रीको आग्रह

दियो पोस्ट  

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा ९म्याग्निफाइड ग्लास० लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कुनैपनि निकायमा भ्रष्टाचार गर्न नदिने र भ्रष्टाचारविरुद्धको आफ्नो संकल्पलाई सत प्रतिशत कार्यन्वयन गराएरै छाड्ने प्रधानमन्त्री ओलीले बताएका छन् । भ्रष्टाचारविरुद्ध सरकारले शुन्य सहनशीलतको नीति अवलम्वन गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले कसैलाई पनि कसैको अगाडी नझुक्न आग्रह गरे ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको बार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकांकलाई आगामी दिनमा सकारात्मक फेरबदल ल्याउने बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि नागरिक समाज र संचार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२ औँ स्थानमा छ । भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना सङ्कल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेको थियो । उनीहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिष बाट नगर्न सुझाव दिएका छन् ।