सभापति देउवालाई हटाउन रामचन्द्र पौडेल गोप्य छलफलमा, चाक्सीबारीमा को–को पुगे ?

दियो पोस्ट  

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पाँच वर्षे कार्यकाल नसकिंदै हटाउने खेल सुरु भएको छ । २०७२ फागुनमा १३ र्र्र्औं महाधिवेशनबाट देउवाले कोइराला विरासत भत्काउँदै सभापतिमा बाजी मारेका थिए ।

नियमित चार वर्ष र विशेष अवस्थामा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई टेक्दै पदमा बहाल हुने उनको समय अझै २३ महिना बाँकी छ । तर, पाँच वर्षे कार्यकाल पूरा नगर्दै देउवालाई जसरी पनि विस्थापित गर्ने गरी पौडेल सिटौला पक्ष आन्तरिक तयारीमा जुटेका हुन् ।

तर, नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार भएको पौडेल पक्षको भेलाले देउवा पार्टीमा असफल भएको भन्दै १४ औं महाधिवेशन अन्तर्गत अधिवेशनका कार्यक्रम अहिलेदेखि नै सुरु गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

देउवा नेतृत्वमा पार्टी इतिहासमैं कमजोर बनेको, विधि, विधान र पद्धतिको धज्जी उडाइएको भन्दै पौडेल पक्षले एक वर्ष पदावधि बढाउने देउवाको सोचलाई पूरा हुन नदिनका लागि १४ औं महाधिवेशनको तयारी थाल्नुपर्ने गरी दबाब दिएको हो ।

२८ मंसिरदेखि सुरु हुन लागेको महासमिति बैठकलाई लक्षित गर्दै पौडेल पक्षले देउवासँग दुरी बढाउँदै आफ्नो पक्षमा माहोल बनाउन यस्तो रणनीति अख्तियार गरेको हो ।

देउवा सभापति भएपछि पार्टी एकपछि अर्को गर्दै कमजोर हुन थालेपछि पूर्व संस्थापनपक्षी सबै नेताहरु यतिखेर एउटै कित्तामा मात्रै उभिएका छैनन, १४ औं महाविधेशनमा देउवालाई जसरी पनि परास्त गरेरै छोड्ने रणनीतिमा लागेका छन् ।

‘अब प्रदेश समितिदेखि विधानले व्यवस्था गरेका नयाँ संरचना बनाउन ढिलाई गर्नुहुन्न । तर, यस्ता समिति निर्वाचनबाटै सुरु गर्नुपर्छ भन्नेमा हामी छौं’ पौडेल निकटका नेता नविन्द्रराज जोशी भन्छन्, ‘तदर्थ समितिबाट नयाँ समिति बनाउन पाइदैन । त्यसैले विधानका व्यवस्था १४ औं महाधिवेशनबाट लागू गर्नुपर्छ र यसका लागि अधिवेशन सुरु गरिहालौ भन्ने हाम्रो भनाई हो ।’ साथै, विधानले संसोधित मस्यौदामा गरिएका नयाँ प्रावधानका मनोनितका व्यवस्थालाई १४ औं महाधिवेशनका अन्तर्गतमात्रै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यस्तो हुँदा देउवालाई १४ औं महाधिवेशन अघि आफू निकटका नेतालाई मनोनित गरी आफ्नो पक्षमा पार्ने र अर्को पक्षका नेतालाई आफूतिर तान्ने सहजता हुँदैन । तर, देउवाले मनोनित पदहरुमा महासमितिको बैठक लगत्तै लागू गर्ने मानसिकता बनाएका छन् ।

नियमित कार्यकालको चार वर्ष सकिन देउवाको समय अझै १३ महिना बाँकी छ । तर, पौडेल पक्ष यो १३ महिनाभित्रै १४ औं महाधिवेशन सक्ने गरी काम थाल्नुपर्ने पक्षमा एकमत देखिएको हो । पौडेल भेलामा सिंहको घरमा नेता रामचन्द्र पौडेलसहितका उनी पक्षधर र सिटौला पक्षका अधिकांश नेताहरुको उपस्थिति थियो ।

किन थप्न नदिने एक वर्ष ?

तीन तहको निर्वाचन भएपछि अब संविधान कार्यान्वयन गर्नेबाहेक अरु राजनीतिक संक्रमण छैन । त्यसैले एक वर्ष अवधि थप्नका लागि विशेष परिस्थिति नभएको विषयमा टेक्दै महाधिवेशन चार वर्षभित्रै गर्नुपर्ने पक्षमा पौडेल र सिटौला पक्ष छन् ।

एक वर्ष कार्यकाल लम्बयाउने कुनै तर्क र संक्रमणकाल नै नभएको भन्दै कुनै हालतमा समय थप्न नदिने निष्कर्षमा यी दुई पक्ष पुगेका छन् । यसको लागि समय छँदै दबाब दिने र समय थप गर्न नदिने पक्षमा आफूहरु रहेको जोशीको भनाई छ ।