काठमाडौँ, मंसिर २५ । तीन दिनदेखी धर्नामा रहेका लगानीकर्ताहरुको आन्दोलनलाइ नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले समेत समर्थन गरेका छन् । पुँजी बजारमा सुधार र विस्तार लगायतका विभिन्न माग राख्दै नेपाल स्टक एक्सचेञ्ज अगाडी धर्नामा रहेका लगानीकर्ताहरुमाझ कांग्रेस नेता खतिवडाले पनि ऐक्यवद्धता जनाएका हुन् ।
पुँजी बजारमा अनलाईन प्रणाली कार्यन्वयन गरिपछि अनपेक्षित रुपमा परिसुचक घट्न थालेपछि लगानीकर्ताहरु आन्दोलनमा होमिएका हुन् । धर्नामा बोल्दै नेता खतिवडाले पुँजी बजारलाई सन्तुलित तथा सुधारात्मक हिसावले अगाडी बढाउनको लागि सरकारले कदम चाल्नु पर्ने बताएका छन् । अनलाईन प्रणाली लागु गरिसकेपछि लगानीकर्ताहरुको लगानी धराशायी बन्दै गएको ध्यानाकर्षण गराउँदै नेता खतिवडाले सरकारले सुरक्षित तरिकाले लगानी गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्ने बताएका छन् ।
के के छन् लगानीकर्ताका माग ?
१) सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस ।
२) अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याओस ।
३) धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस ।
४) शेयर दलाल मार्फत मार्जिन ट्रेडिड। तत्काल खुला गरियोस ।
५) शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस ।
६) धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस ।
७) ग्रेड चार र पाँच रेटिड। प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस ।
८) कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस ।
९) सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस ।
१०) कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस ।
आफुले राखेका मागहरुप्रति सरकार गम्भिर नभए थप आन्दोलन गर्ने धर्नामा बसेका समुहले जनाएका छन् ।