नुवाकोट, २९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शोराज नामको मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना गम्भिर घाइते भएका छन् ।
घाइतेको उद्दार गर्नका लागि नेपाली सेनाको नाइट भिजन हेलिकोप्टर जाने तयारी गरेपनि दुर्घटनास्थल निकै खोँचमा भएका कारण संभव नभएको प्रदेश नम्बर ३ की सभामुख राधिका तामाङले जानकारी दिइन् ।
४० जना सवार रहेको ट्रक कच्चि सडकबाट ५ सय मिटर तल भिरमा खसेको थियो ।
मध्यान्न ४ बजे दुर्घटना भएपनि बेलुका मात्रै स्थानिय प्रशासनले खबर पाएको पाइएको छ । उद्दार कार्य ढिला हुनाले पनि धेरै विरामीको हताहत भएको स्थानियको बनाई छ ।
घाइते १६ जनामध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरुलाई ट्रकमै राखेर जिल्ला अस्पतालमा ल्याइएका र केही गम्भिर घाइतेलाई भने एम्बुलेन्समा काठमाडौं पठाइएको थियो ।
बा ३ ख ३९१३ नम्बरको श्वराज ट्रक दुर्घटना भएको हो ।
शिखरबेसीको सिम्टाङमा मृत्यु भएका आफन्तको घेवा (अन्तिमं संस्कार)मा सहभागी भएर फर्किएका तामाङ समुदायका व्यक्ति दुर्घटनामा परेको डिएसपी भट्टराईले बताए ।
शुक्रबार रातिसम्म तीन मृतकको मात्रै सनाखत भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार शिखरबेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको सनाखत भएको छ ।