चितवनलाई देशको नमुना जिल्ला बनाउन हातेमालो गर्न प्रचण्डको आह्वान

दियो पोस्ट  

 

चितवन, पुष १ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई नमुना जिल्लाको रुपमा विकास गर्नुपर्ने जोड दिएका छन् । भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आइतबारदेखि शुरु भएको शैक्षिक भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एव. विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्राकृतिक सम्पदाले धनि चितवनलाई विकासको दृष्टिले नमुना जिल्ला बनाउनुपर्ने बताएका छन् ।

नमुना जिल्ला बनाउनको लागि सबैले आफ्नो ठाउँबाट मिहेनत गर्नसमेत आह्वान गरेका छन् । जिल्लामा नेपालभरिकै मानिसहरुको बसोबास रहेको र प्राकृतिक सम्पदा लगायत पर्यटकिय महत्वका हिसाबले पनि प्रचुर सम्भावना बोकेको चितवनलाई विकास निर्माणको माध्यमबाट देशकै नमुना जिल्ला बनाउनको लागि आफुले सक्ने सहयोग गर्ने बताउँदै यसका लागि सम्पुर्ण जिल्लावासीहरुले साथ दिनुपर्ने बताएका छन् ।

गत चुनावको प्रचारप्रसारमा हिँड्दा धुलोबाटो हिँडेको स्मरण गर्दै प्रचण्डले आगामी चुनावसम्म चितवनका कच्ची सडकहरुलाई कालोपत्रै गरिसक्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । आफु चितवनको सांसद मात्रै नभएर देशको पुर्व प्रधानमन्त्री , पार्टी अध्यक्ष, निर्वाचन प्रक्रिया र सिंगो देशको शान्ति प्रक्रियामा महत्वपुर्ण भुमिका निर्वाह गरेको ब्यक्ति भएकाले चितवन मात्रै नभएर सम्पुर्ण देशलाई समृद्ध बनाउने अभियानमा लागेको बताए । अध्यक्ष प्रचण्डले केन्द्रबाट विकासनिर्माणको लागि आउने बजेटको सदुपयोग गर्नसमेत आग्रह गरेका छन् । वजेटको कार्यन्वयनमा हुने दुरुपयोग तथा अनियमितताप्रति तल्लो तहले पनि चनाखो भएर अवलोकन गर्नसमेत उनले आग्रह गरेका छन् ।

उनले विद्यालयलाई पनि आफुबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।