यी हुन् गोविन्द केसीविरुद्ध अनसन बस्ने सामाजिक अभियन्ता, गगन थापा र रवीन्द्र मिश्रलाई समेत नछोड्ने चेतावनी

दियो पोस्ट  

काठमाडौँ, पुष १६ । प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई पास गराउनुपर्ने माग राखि पटकपटक अनसनमा बसिरहँदा एक सामाजिक अभियन्ता उनकै विरुद्ध भोक हडतालमा उत्रिएका छन् । विगत ५३ दिनदेखि भोक हड्ताल गरिरहेका सामाजिक अभियन्ता तथा विद्यार्थी विजय थापाले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक कुनैपनि हालतमा पास गर्न नहुने माग राखेका छन् ।

लामो समयदेखि भोक हड्तालमा रहेतापनी सरकारले केही वास्ता नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन् । उनले गोविन्द केसीको माग कुनैपनि हालतमा पुरा हुन नहुने बताएका छन् ।

‘श्रीमती छोडेर सडकमा आएका डा. केसीले भनेकै आधारमा सरकारले कानुन बनाउन पाईँदैन’, उनले भने ‘डा. केसी फेरी अनसन म उनको विरुद्धनै अनसन बस्छु ।’ डा. केसीको मागले स्वास्थ्य क्षेत्रलाई प्रभावित पार्ने र यसले ठुलो दुर्घटनासमेत निम्त्याउने भन्दै कुनैपनि हालतमा चिकित्सा शिक्षा विधेयक पास हुन नदिने बताए ।

विभिन्न राजनीतिक दलका नेताहरुले डा. केसीलाई हतियार बनाएर राजनीति गरिरहेको बताउँदै थापाले त्यस्ता नेताहरुलाई पनि नछाड्ने बताए । नेपाली कांग्रेसका नेता गगनकुमार थापा र विवेकशील साझाका रवीन्द्र मिश्रले डा. केसीलाई हतियार बनाएर राजनीति गरेको र यस्तो कार्यले उनिहरुको राजनीतिक जीवन पनि प्रभावित हुने चेतावनी दिएका छन् ।

उनले भने,‘डा.केसीलाई गगन थापा र रवीन्द्र मीश्रलगायतले बोकिरहेका छन्, हामी कसैको बिरोधी होईनौं, देशभरि अस्पताल खोल्नुपर्छ, यो वातावरण सरकारले बनाउनुपर्छ, संसदबाट पारित हुन लागेको राष्ट्रघाती चिकित्सा शिक्षा विद्येयक खारेजी गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

थापाले नेपालमा एम.डी. र पि.जी. क्लासको कोटा तत्काल कम्तिमा १५ सय पु¥याउनुपर्ने, तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने, बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएको १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने, सरकारी तलब,भत्ता र सेवा÷सुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।

थापाको नाममा जारी विज्ञप्तीको अन्तिममा भनिएको छ,‘माथि उल्लेखित हाम्रा माग बिरुद्ध यदि कुनै पनि संस्था, व्यक्ति होउन् या सरकार लाग्छ भने त्यसको परिणाम अवस्य राम्रो हुनेछैन् । त्यस्ता बाधक तत्वविरुद्ध प्रतिकारमा उत्रनुको बिल्प छैन ।’