कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित

दियो पोस्ट  

काठमाडौँ । निरन्तरको प्रयास पछि पनि सहमती नहुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । पौडेल पक्ष शुक्रबार पनि बैठकमा उपस्थित नभएपछि शुक्रबारका लागि तोकिएको बैठक स्थगित भएको हो ।

कांग्रेसले अर्को बैठक पुस १० गते दिउँसो १ बजेलाई बोलाएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय सदस्य तथा पौडेल निकट नेता हृदयराम थामीले वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा आगामी कार्ययोजनाबारे छलफल भइरहेको जानकारी दिए ।

विभाग विस्तार, नेविसंघ र तरुण दलको नेतृत्व चयनमा विवाद, महाधिवेशनको कार्यातालिका लगायत पार्टीको आन्तरिक विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति भएको छैन ।

विभाग विस्तारमा असहमति जनाउँदै नेविसंघ र तरुण दलमध्ये एक संगठनको नेतृत्व आफूले पाउनुपर्ने माग पौडेल पक्षले गर्दै आएको छ । पौडेल पक्षले तत्कालन महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग पनि गर्दै आएको छ ।

महाधिवेशनभन्दा विभाग गठन र दुई संगठनमा रिक्त नेतृत्वलाई पूर्णतालाई प्राथमिकता बनाएर संस्थापन पक्ष अगाडि बढेको छ ।

गत बिहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक वरिष्कार गर्दै आएको पौडेल पक्ष र संस्थापन पक्षबिच वार्ता पनि हुँदै आएको छ । दुई पक्षबीच सहमतिबाटै समाधान खोजिएको छ ।