काठमाडौं, १६ मंसिर । सरकारले सोमबार देशभरका ३०९ वटा गाउँपालिकामा ३ सय ९६ वटा ५ देखि १५ सैप्याको आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको छ ।
करिब ५८ अर्बको लगानीमा निर्माण हुन लागेको यति ठूलो संख्याको अस्पतालले नेपालमा एउटा क्रान्ति पक्कै ल्याउने छ ।
सरकारले नै यसलाई स्वास्थ्य क्षेत्रमा भएको एउठा ऐतिहासिक क्रान्तिको रुपमा यसलाई व्याख्या गरिरहेको छ ।
सोमबार जग्गा प्राप्ति भएका सबै स्थानिय निकायमा एकैसाथ अस्पतालहरुको शिलान्यास गरिएहो हो । बाँकी स्थानिय तहमा भने मंसिर भित्रै शिलान्यास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल शिलान्यास गर्दै हिँडेका मन्त्री भानुभक्त ढकाल सोमबारको मन्त्रीपरिषद बैठकमा समेत उपस्थित भएनन् ।
देशभर एकैसाथ यति ठूलो संख्यामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधारको क्षेत्रमा एउटा ठूलो फड्को त पक्कै हो तर अस्पताल मुर्त रुपमा निर्माण गर्नु राज्यलाई ठूलै चुनौती रहेको छ । स्थानिय तहमा अस्पताल निर्माणको जगको विजारोपण तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारले गरेको हो । शिलान्यास गर्नकै लागि स्वास्थ्य मन्त्रालयलाई करिब ४ वर्ष लागेको छ ।
२०७३ साल साउन १९ गते दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्डलाई नेपाली कांग्रेसको समर्थन थियो । कांग्रेसको कोटाबाट स्वास्थ्य मन्त्री थिए–गगन कुमार थापा । करिब १० महिना मन्त्रालय सम्हालेका थापाले छोटो समयमै धेरै नीतिगत व्यवस्था गरेका थिए । उनको योजनामा प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ थियो । थापाले अघिसारेको धेरै योजना मध्ये एक थियो– एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना ।
त्यतिबेलै बनेको यो गुरुयोजना शिलान्याससम्म आइपुग्न करिब ४ वर्ष लागेको छ । त्यतिबेलाको सरकारले मन्त्रिपरिषदबाट ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ स्विकृत गरेको थियो । सोही मापदण्डले स्थानिय निकायमा ५ देखि १५ सैप्याको अस्पतालको जग बसालेको हो ।
२०७४ साल जेठ २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिएका प्रचण्डले एकमहिना अगाडी अर्थात वैशाख २१ गते ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ स्विकृत गरेको थियो ।