नेकपा विवादबीच गोरखापत्र बन्यो ‘ओली समुहको मुखपत्र’ : ओलीको दस्तावेजले पत्रिका भरियो !

दियो पोस्ट  

काठमाडौं । पत्रकारिता तथ्य, सन्तुलित र विश्वसनीय हुनुपर्छ भन्ने आम मान्यता छ । तर यो मान्यताबाट नेपाली पत्रकारिता च्युत भएको आक्रोस प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेला पोख्ने गरेका छन् । केही समयअघि उनले ‘मुटु नभएका सम्पादक’ भनेर गरेको टिप्पणी निकै चर्चामा रह्यो ।

पत्रकारिता आफ्नो धर्मनिर्वाहमा चुक्यो÷चुकेन ? यो विश्वभरकै बहसको विषय हो । आफ्नो देशभित्रको पत्रकारितालाई मर्यादित र सन्तुलित बनाउन स्वभाविक रूपमा राज्यको भूमिका भने अहं हुन्छ÷हुनुपर्छ । तर आफुनो धर्मबाट च्युत भएर पत्रकारिता जगतले पक्षधरता लिएको आरोप लगाउने प्रधानमन्त्री ओली स्वयंले पार्टीभित्रका विरोधी तह लगाउन जनताको करबाट सञ्चालित गोरखापत्र दैनिकको चरम दुरूपयोग गरेका छन् । सरकारी गतिविधि गोरखापत्रमा प्रकाशित गर्नु स्वभाविक भए पनि नेकपा अध्यक्षको हैसियतमा ओलीले प्रचण्डलाई फर्काएको जवाफको फेहरिस्त नै गोरखापत्र दैनिकमा छापिएको छ ।


०७७ मंसिर ३ र त्यसको १० दिनपछि मंसिर १३ मा बसेको सचिवालय बैठकमा ओलीले गरेको सम्बोधन र पेश गरेको प्रस्तावलाई हुबहु प्रकाशित गरेको हो । यसका लागि मंसिर ४ मा गोरखापत्र दैनिकको ३ पृष्ठको आधा र मंसिर १५ गतेको ७, ८ र ९ पृष्ठ खर्च गरिएको छ ।


८ कोलमको गोरखापत्र दैनिकको साइज ५० सीसी छ । गोरखापत्र दैनिककमो श्यामश्वेत पृष्ठको प्रतिसीसीको विज्ञापन दर १ हजार ३ सय रूपैयाँ छ । यसमा २५ प्रतिशत व्यावसायिक राहत दिने उसको नीति छ । यस हिसाबले साढे ३ पृष्ठको मूल्य १३ लाख ६५ हजार हुन आउँछ । तर राज्य सत्ताको दुरूपयोग गरेर नेकपा नेतृत्वबीचको आन्तरिक मामिलालाई सरकारी मसी र कागज खर्च गरेर फुर्मास गरिएको छ ।

राजतन्त्रकालमा राजाका निजी भनाई गोरखापत्रमा छापिने गरे पनि गणतन्त्र स्थापनापछि कुनै दल विशेषका नेताको प्रस्तावलाई पहिलोपटक प्रकाशित गरिएको गोरखापत्र संस्थानका एक अधिकारी बताउँछन् । ‘पहिले–पहिले राजाको चाकरी गर्न देश र जनताका लागि आवश्यक नै नभएका कुरा गोरखापत्रमा छापिन्थ्इो,’ गोरखापत्रका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘गणतन्त्रमा दलका अध्यक्षको प्रतिवेदन छापिँदा त्यहीँ राजतन्त्रकालको झल्को आइरहेको छ ।’


ओलीभन्दा पहिले नै नेकपाका अर्का अध्यक्ष पचण्डले पनि ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रतिवेदन पेस गरेका थिए । रोचक त के छ भने ओलीको प्रतिवेदन साढे ३ पृष्ठ खर्चेर छापेको गोरखापत्रले प्रचण्डको समाचार छाप्नैसमेत निकै कन्जुस्याइँ गरेको थियो ।

बढ्दै दुरूपयोग !


जनता र देशको हितमा सरकारी सञ्चारमाध्यम प्रयोग गर्नुपर्ने भए पनि पछिल्लोपटक गोरखापत्र दैनिक र यसका सह–प्रकाशनहरूलाई नेकपाका कुनै एक नेता विशेषको मुखपत्रजस्तो गरी दुरूपयोग हुने क्रम बढेको छ । नेकपामा जब ओली र प्रचण्डबीच विवाद चर्कन्छ, तब गोरखापत्र देखिने गरी ओलीको पक्षमा खुल्ने गरेको छ ।

त्यसका लागि स्तरहीन लेखसमेत गोरखापत्रमा छापिने गरेको छ । गएको गाईजात्राका दिन ओलीलाई समी र प्रचण्डलाई पोथ्रा भन्दै बद्री विशाल पोखरेलले लेखेको लेख निकै विवादित बनेको थियो ।

गोरखापत्र दैनिकमा हाल श्रीधर आचार्य निमित्त सम्पादक छन् । १० औं तहका उनी तत्कालीन प्रेस चौतारी नेपालका नेता हुन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र सुधारका लागि व्यवस्थापनतर्फ टीकाराम राई र कुमार भट्टराई तथा प्रकाशनतर्फ गोपाल खनाललाई सल्लाहकार सम्पादकको जिम्मेवारी दिएर पठाएका थिए । राईले व्यवस्थापनको पाटोमा आमूल सुधार गरिरहँदा खनाल भने गोरखापत्रको चरम दुरूपयोग गर्नमै व्यस्त छन् ।
यस विषयमा गोरखा पत्रका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीलाई सम्पर्क गर्दा अहिले ठाडो ठाडो के बोल्नु भोली प्रतिक्रिया दिउँला भन्दै फोन काटिदिए ।


निमित्त प्रधानसम्पाक श्रीधर आचार्यले आम पाठकलाई जानकारी दिनका लागि ओलीको दस्ताबेज छापेको प्रतिक्रिया दिए । उनाई भविष्यमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको दस्तावेज छाप्नुहुन्छ भनेर प्रश्न गर्दा ‘पाइयो भने छाप्छौँ’ भन्ने जवाफ दिए ।

पत्रकारिताका एक प्रध्यापकले गोरखापत्र यतिबेला प्रधानमन्त्री ओलीको दावेदारीमा लागेको बताए । ‘विशुद्ध प्रधानमन्त्रीको मुखपत्र र दाबेदारी भयो,’ उनले भने ।