काठमाडौं, १९ मंसिर । पुष्पलाल (मध्यपहाडी राजमार्ग) निर्माण आयोजना कार्यालयले सडक निर्माणमा लापरबाही गर्ने ११ वटा ठेकेदार कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गत सडक विभागको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय योजना कार्यालय धुलिखेलले ठेक्का किन नतोड्ने भन्दै सुचना नै छापेको छ ।
ठेकेदार कम्पनिहरुले आयोजना कार्यालयसँग गरेको सम्झौता अनुसार समयमै निर्माण कार्य नसकी राजमार्ग निर्माण योजना अलपत्र पारेको भन्दै ठेक्का तोड्ने चेतावनी दिइएको हो ।
कार्यालयले ७ दिनभित्र स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।
२०६८ साल असार २४ गते सम्झौता भएको सिन्धुली–उदपुरको बहादरे पुल निर्माण कार्य २०७७ जेठ ३० गतेसम्म निर्माण गरिसक्नुपर्ने भएतापनि ठेकेदार कम्पनी सर्वउद्धार जे.भी र सगरमाथा जेभीले हालसम्म पनि सम्पन्न गरेको छैन ।
त्यस्तै सिरुवा कन्स्ट्रक्सन कम्पनीले २०७२ साल असोज ७ गते सम्झौता गरेको खोटाङको पुल निर्माण कार्य गत असोज ३० गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण कार्य सकेको छैन ।
लोहोनी एण्ड ब्रदर्श र सिद्धबाबा जेभीले संयुक्त ठेक्का हातपारेको रामेछापको सलेघाट– पलासे सडक खण्ड गत असार १६ गते नै सम्पन्न गर्नुपर्ने भएतापनि हालसम्म सम्पन्न गरेको छैन ।
लोहोनी जेभी र आत्रेय जे.भीले संयुक्त ठेक्का हातपारेको सिन्धली÷उदयपुर खुर्कोट–घुर्मी सडक खण्ड गत असोज ३० गते नै सम्पन्न हुनुपर्ने भएपनि हालसम्म सम्पन्न नभएको आयोजना कार्यालयले जनाएको छ ।
खोटाङको भोजपुर दिक्तेल सडकखण्ड ठेक्का हातपारेको भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा, सिद्धिसाई जेभीले आउने पुस २३ सम्म निर्माण सक्नुपर्ने छ । तर सन्तुष्ट हुनेगरी काम नभएकोले आयोजनाले सुचना छापेको छ । सुर्य निर्माण सेवा र केएम जेभीले ठेक्का हात पारेको खोटाङको दौन्तेखोला पुल निर्माण कार्य पनि सन्तोषजनक प्रगती नभएको आयोजनाले जनाएको छ ।