
काठमाडौं, ९ पुस । गृहमन्त्री राम बहादुर थापा बादलका राजनीतिक सल्लाहाकार सुर्य सुवेदी पथिक प्रचण्ड– माधवले नेतृत्व गरेको नेकपामा देखिएका छन् ।
गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओली समुहतिर लागेका बेला उनी भने विपरित ध्रुबमा लागेका हुन् ।
यसअघि उनकी पत्नि ज्ञानु बस्नेत सुवेदी प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाको मंगलबारको केन्द्रीय समिति बैठकमा सहभागी भएकी थिइन् ।
विहिबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका पथिकले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको बताए ।
उनले सञ्चारकर्मीहरुसँग भनेका छन्,‘हामी केपी ओलीको सती जान सक्दैनौं । उहाँले मुलुकलाई भड्खालोमा हाल्नुभयो ।’
उनका अनुसार गृहमन्त्री के कुरामा फस्नु भएको छ भन्ने थाहा समेत भएको छैन । प्रचण्ड माधवले नेतृत्व गरेको नेकपामा ल्याउन पथिक लगायत नेताहरुले कासिस गर्दा पनि उनी ओली समुह तिरै लागेको पाइएको छ ।
‘धेरै सल्लाह गरियो तर आउन सक्नुभएन । उहाँ के कुरामा फस्नुभएको छ भन्ने बुझ्न सकेनौं,’ सुवेदीले भनेका छन्, ‘विचारका कारणले त उहाँ ओलीसँग जानुभएको होइन, अरू नै कारणले उहाँ बालुवाटार जानुभयो ।’