काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको मन्त्रिपरिषद् हेरफेर र पुनर्गठन गरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले मनोमानी रुपमा आफू निकट मालदार मन्त्रालय आफ्ना मान्छेलाई र सानातिना मन्त्रालय भने प्रचण्डको साथ छोड्ने पूर्व माओवादी नेतालाई दिएका छन् । उनले आठ नयाँ मन्त्री र एक राज्यमन्त्री थपेका छन्। ती मध्ये ५ जना पूर्व माओवादी तर्फका मन्त्री छन् ।
उनले केही प्रमुख मन्त्रालयका मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरेका छन्।
प्रधानमन्त्री ओलीले यसअघि संघीय मामिला तथा स्थानिय विकास मन्त्री रहेका हृदेयश त्रिपाठीलाई स्वास्थ्यमन्त्रीमा सरुवा गरेका छन् । स्वास्थ्य सामग्र खरिदमा विवादमा तानिएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भने पर्यटन मन्त्रीमा सरुवा गरिएको छ । संसद विघटनसँगै पर्यटन मन्त्री योगेश भट्टराईलाई राजिनामा दिएका थिए ।
त्यस्तै गिरिराजमणि पोखरेलले सम्हालेको शिक्षा मन्त्रालयमा भने कृष्ण गोपाल श्रेष्ठलाई सरुवा गरिएको छ । उनले सम्हालेको सहरी विकास मन्त्रालय आजै मात्रै माओवादी छाडेका प्रभु शाहलाई जिम्मा लगाइइको छ । साह मन्त्री दिने सर्तमा ओली समुहमा लागेका व्यक्ति हुन् ।
त्यस्तै भूमि सुधार मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा शिव माया तुम्बाहाङ्फेलाई सरुवा गरिएको छ । तुम्बाहाङ्फेले सम्हालेको कानुन मन्त्रालयको जिम्मावारी महिला तथा बालबालीका मन्त्री लिलानाथ श्रेष्ठलाई दिएको छ ।
यता ओली समुहमै रहेका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाइएको छ । उनको स्थानमा दावा लामालाई नियुक्त गरिएको छ । उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाएर उनको स्थानमा विमला विश्वकर्मालाई नियुक्त गरिएको छ । त्यस्तै उर्जामन्त्रीमा टोप बहादुर रायमाझीलाई नियुक्त गरिएको छ । त्यस्तै काठ तस्करीमा समलग्न रहेको आरोप लागेका प्रेम आलेलाई वन मन्त्रीकै जिम्मेवारी दिएको छ ।
अन्तिम घडीमा माधवकुमार नेपाल समूहमा लाग्ने बताएर ओली समूहमै फर्किएका रघुवीर महासेठकी धर्मपत्नी जुलीकुमारी महतो महिला बालवालिका मन्त्री बनेकी छिन् ।
पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, उनले शितल निवास पुगेपछि भने खानेपानी मन्त्रालयको जिम्मवारी पाए । थापाले त्यही भएपनि सपथ लिए ।