काठमाडौं, १५ पुस । मिडियाको आडमा माफियाहरु विभिन्न धन्दामा छन् । केही वर्षअघि एपीवान टेलिभिजनका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद वास्तोलालाई नक्कली भौचर दिएर करोडौंको जग्गा हत्याए । दियोपोस्टले थापाको ठगीधन्दाको खुलाशा गरेपछि पोखरा जिल्ला अदालतले पक्राउ पुर्जि नै गारी गर्यो । त्यतिबेला उनी अमेरिका भागेका थिए । त्यस्तै एभिन्युजका मालिक भाष्कररराज राजकर्णिकारले गरेको जग्गा दलालीधन्दाको पर्दाफास पनि दियोपोस्टले नै गरेको थियो ।
पछिल्लो समय एक टेलिभिजनका साहुले भने शेयरधनीमाथि ज्यादती गरेको खबर छ ।
राजधनीको बालाजुमा रहेको मेगा टेलिभिजनका अध्यक्ष बद्रि पोखरेलले आफ्नै शेयर सदस्यमाथि अन्याय गरेको आरोप लागेको हो ।
दियोपोस्टको कार्यालयमा आएर आफू अन्यायमा परेको भन्दै पौडलले टेलिभिजनका मालिक पोखरेलमाथि प्रहरीमा उजुरी दिँदा पनि सुनुवाई नभएको बताएका छन् । उनका अनुसार पोखरेल मेगा टेलिभिजन, मेगा प्लस सहकारी र मेगा केवल नेटवर्कका मालिक हुन् ।
मेगा केवल नेटवर्कमा आफ्नो कम्पनि मर्ज गरे बापतको शेयर रकम नदिएर आफूलाई लामो समयसम्म यातना दिएको पौडेलले दियोपोस्टलाई बताए । शेयर बापतको रकम भुक्तानी माग्दा आफूलाई अध्यक्ष पोखरेलले दुर्व्यबहार गरेको समेत उनको गुनासो छ ।
‘शेयरको रकम फिर्ता माग्दा उहाँले मलाई चिया खाइरहेको कपले हान्ने कोशिस पो गर्नुभयो । छवी आचार्य र मनहरी भन्ने २ जनाले देख्नुभएको छ । फेरी पछि मिटिङ गरियो । त्यो बैठकले पनि पटक श्यामलाई पैसा दिने निर्णय गरियो । लिखित माइन्युट पनि छ,’ उनले भने,‘एउटै बिल्डिङमा ३ वटा कार्यालय सञ्चालनमा छ । मेगा को–अपरेटिभ बीचको तलामा छ । माथिल्लो तलामा मेगा टेलिभिजन । तल्लो तलामा मेगा केवल नेट प्रा.लीको प्रबन्ध सञ्चालक पनि उहाँ नै हुनुहुन्छ । मेरो शेयर लगानी भएको शेयरलगत समेत दिएनन् ।’
केवल कम्पनि सञ्चालनको समयमा समेत शेयरधनीलाई थाहा नै नदिई पोखरेलले एकलौटी गरेको उनको गुनासो छ । उनले आफै अध्यक्ष रहेको मेगा प्लस सहकारीबाट ऋण अपचलन गरेको समेत उनको गम्भिर आरोप छ ।
‘बद्रि पोखरेल सरले कम्पनि रन गर्दा कसैलाई सोध्नुभएन । ऋण कति धन कति कुनै साझेदारलाई थाहा दिएन । उहाँले आफ्नै सहकारीबाट आफूखुसी चर्को ब्याजमा ऋण काढ्नुहुन्छ । २४ देखि ३६ प्रतिशत सम्मा मेगा केवल नेटको नाममा ऋण निकाल्नु भएको छ,’ उनले भने,‘ब्याज खाने उद्देश्यले केवललाई ब्याज बोकाइरहनु भयो । ऋण अपचलन भइहेको छ ।’
शेयर रकम फिर्ता गरिपाउँ भन्दै उनले गतवर्ष २०७६ वैशाख १६ मै मेगा केवल नेट प्रालीको सञ्चालक समितिमा उजुरी दिएका थिए । तर, पटकपटक उजुरी दिएपनि सुनुवाई नभएपछि गत पुस ६ गते महानगरीय प्रहरी बृत बालाजुमा उजुरी दिए ।
अध्यक्ष पोखरेलले आफ्नो शेयरबापतको ३० लाख रुपैयाँ, तलब सञ्चयकोष लगायत गरि ५ लाख रुपैयाँ नदिएपछि प्रहरीमा उजुरी दिएको पौडेलले बताए । उजुरीमा उनले आफूले शेयर बापतको रकम र तलब ज्याला फिर्ता पाउनुपर्ने माग गरेका थिए । प्रहरीले उजुरी परेपछि छलफलका लागि पाखेरेललाई बोलाएको थियो । तर, उनले आफू प्रतिष्ठित टेलिभिजनको मालिक रहेको भन्दै प्रहरी कार्यालयमा २५ लाखसम्म दिन सक्ने बताएको पौडेलको भनाई छ । पीडित पौडेलका अनुसार पोखरेलले भोली छलफलमा आउँछु भन्दै प्रहरी कार्यालयबाट हिँडेका थिए ।
‘त्यसपछि त्यही २५ लाख पनि दिन्न भन्नुभयो । मैले म तपाईंलाई ३० लाख दिन्छु । तपाईं र म शेयर बराबर हो तपाईं निस्कनुस् भन्दा मान्नुभएन । मैले शेयर किन्न भनेर बाहिरको मान्छे ल्याएँ । तर, उहाँले बाहिरको मान्छेलाई शेयर दिन्न भनेर मेर शेयर बेच्न पनि दिनुभएन,’ पौडेलले भने,‘म अन्यायमा परेँ । टेलिभिजनकै मालिकले म माथि अन्याय गरे । मलाई न्याय चाहिएको छ ।’
पौडेलले आफूलाई अध्यक्ष बद्रि पोखरेलले जबरजस्ती कम्पनीबाट निकालेको समेत बताए ।
‘गत मंसिर १७ गते अध्यक्ष पोखरेलले राजिनामा र निवेदन दिनुस् अनि पैसा दिन्छु भन्नुभयो । तर, मैले अस्विकार गरेँ । शेयरको रकम दिनुस् अनि मात्रै राजिनामा दिउँला भनेँ । तपाईं घरमै बस्नुस् भन्नुभयो । म अफिस आउँदा । मलाई हप्की दप्की दिने काम भयो । अफिसमा स्टाफहरुलाई पनि धम्काउनुभयो । म सहेरै बसेँ । उहाँको र मेरो शेयर बराबर थियो । अन्तिममा 0७६ पुस २८ गते मेरो हाजिर कपी नै लुकाइदिनुभयो । त्यसो भए पैसा ल्याउनुस् कि म तपाईंको शेयर किन्छु तपाईं जानुस् भन्दा उहाँले मान्नुभएन,’ उनले सुनाए,‘म अन्यायमा परेँ । मलाई जबरजस्ती निकाल्नुभयो । मेरो तलब जबरजस्ती खान खोजियो । मेरो तलब नपाउन्जेल म अफिस आउँछु ।’
पौडेलका अनुसार अध्यक्ष पोखरेलले सञ्चयकोषको नाममा कर्मचारीको रकम कटौती गरेर कोषको खातामा भने दाखिला समेत गरेका छैनन् ।
‘विगत ५/६ वर्षदेखि सञ्चयकोष काट्ने भनेर यहाँ तलबबाट रकम काटिएको छ । प्रत्येक स्टाफको सञ्चकोषमा दाखिला गरेको छैन । नागरिक लगानीकोषमा पनि दाखिला गर्नुभएको छैन । त्यो पैसा कहाँ छ भन्ने थाहा छैन । काटिएको सञ्चयकोष, तलब, मेरो शेयर उपलब्ध गराइदिन पाउँ भनेर निवेदन पनि दिएको छु,’ उनले भने ।
पौडेलले आफ्नो ६ हजार सदस्य रहेको नागार्जुन केवल नेटवर्कलाई मेगा केवल नेट प्रालीसँग मर्ज गराएका थिए । ‘मेगा केवल नेटको २५ सय ग्राहक थिए । मेरो कम्पनिको भन्दा भ्यालु नै थिएन । तैपनि मर्ज गराएँ,’ उनले भने,‘ तर आज मैले मेरो कम्पनि नै सुम्पिदिएँ । त्यो कम्पनिमा मेरो श्रीमती, छोरा र छोरीको समेत पसिना मिसिएको छ ।’
उनका अनुसार आन्तरिक लेखा परिक्षण प्रतिवेदन अनुसार उनले ७५ लाख रुपैयाँभन्दा बढी रकम मेगा केवल नेट प्रालीसँग पाउनु पर्नेछ । तर, उनले साथी भाईकै नाताले ३० लाख भन्दाबढी दाबी गरेका छैनन् ।
‘अडिट अनुसारको मैले दाबी गर्ने हो भने लगभग ७० लाखको भ्यालु छ । तैपनि म बाझेर बस्दिनँ । कम्पनि भित्रैकै साथीले किन्ने हो भने म ३० लाखमा बाहिरिन्छु भनेँ । बाहिरको मान्छे लिएर गएँ । ३५ लाख रुपैयाँमा किन्ने कुरा भयो । तर शेयर बेच्न दिएनन् । बाहिरको मान्छे राख्नै नदिने भएपछि तपाईंको शेयरपनि मलाई नै दिनुस्भन्दा दिनुभएन । ममाथि मानसिक यातना मात्रै दिइएको छ ।’
पोखरेल भन्छन्, ‘उहाँको रेटमा कसैले शेयर किन्नुभएन’
पौडेलले मेगा टेलिभिजनका अध्यक्ष तथा मेगा केवलका सञ्चालक बद्रि पोखरेलमाथि लगाएको आरोपको विषयमा पोखरेलसँग दियोपोस्टले प्रतिक्रिया मागेको थियो ।
दियोपोस्टको सम्पर्कमा आएका पोखरेलले शेयरको मुल्यांकन महँगो भएका कारण कसैले नकिनेको बताए ।
उनले शेयरधनी पौडेलमाथि अन्याय नगरेको बताए । ‘उहाँले नबुझ्नु भएको हो,’ उनले भने ।