वीर अस्पतालमा झूटो मेडिकल रिपोर्ट बनाएर जागिर खाने कर्मचारीको बिगबिगी

diyopost.com
दियो पोस्ट  सोमबार, मंसिर २७, २०७८ | ०:४९:०९

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालमा फर्जी मेडिकल सिफरिसको आधारमा सरुवा नभई दर्जनौँ कर्मचारीले रजाइँ गरेको फेला परेको छ । कर्मचारी समायोजन ऐन २०७६ अनुसार स्थानिय तहमा जानुपर्ने कर्मचारीहरु खटाएको स्थानमा नगई बीर अस्पतालमै रजाइँ गरिरहेको भेटिएको हो । उनीहरुले समायोजन भएपनि उक्त स्थानमा नगई जटिल रोग लागेको सिफारिस पेश गर्ने गरेको तथ्य फेला परेको छ । वीर अस्पतालमै रहेको मेडिकल बोर्डबाट नक्कली सर्टिफिकेट निकालेर उनीहरु खटाएको स्थानमा गएका छैनन् ।

समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि किर्ते मेडिकल बोर्ड कागजपत्र तयार गरेर वीरकै भन्सार भनेर चिनिने स्टोर र खरिद शाखामा चरम भ्रष्टाचार गरिरहेको स्रोतले जनाएको छ ।

कर्मचारी समायोजन ऐनको दफा ८ लाई आधार बनाएर ती कर्मचारीहरु खटाएको स्थानमा गएका छैनन् । ऐनको दफा ८ मा भनिएको छ, ‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठउँमा राख्न सक्छ ।’

उनीहरुले यही बुँदालाई प्रयोग गरेर कडा रोग नै नलागेपनि चिनेको डाक्टरलाई प्रयोग गरेर प्रेस्क्रिप्सन बनाउने, त्यही पेश गर्ने र मेडिकल बोर्डबाट खटाएको स्थानमा नजाने गरेका छन् ।
आश्चर्य त के भने तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेश गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बीचौलियाहरुको संजाल वीर अस्पतालमै छ । त्यो संजालले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रुपैयाँ खर्च गरि सिफारिस गराउने गरेका छन् ।
वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस विदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ ।
तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः परिक्षण गर्ने हो भने कुनै रोग नभेटिने एक कर्मचारीले बताए । बोर्डबाट वीरकै १५ जना भन्दाबढी सिफारिस स्वास्थ्य समूहका कर्मचारी छन् । स्रंोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी फेलापर्नेछन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरुको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ ।
वीर अस्पतालका कर्मचारीहरुमा अहेब विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो र शंकर झा लगायत छन् । उनीहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकण्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आउँछन् । दिनमा दसौं पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा भाग लिन्छन् । तर उनीहरुले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । र, स्थानीय तहमा नजान उनीहरुले यस्तो झुटो बिरामीको नाटक गरेका छन् ।

वीर अस्पतालका अहेब टीकाराम पनेरुलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने जाने गर्छन् ।
पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिपोर्ट बनाएका छन् । काँगेस स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे र अस्पतालकै नर्स रमिला चौलागाईंले स्वास्थ्य मन्त्रालयको पहुँचको भरमा वीरको स्टोरमा रजाइँ गरिरहेका छन् । पनेरु हाल विभिन्न मेडिकल ब्यापारीसँग विभिन्न नाममा चन्दा उठाउने गतिविधिमा समलग्न छन् । अहिले प्रधानमन्त्री कार्यालय मा कार्यरत दीपक भट्टको नाम लिँदै चन्दा असुल्ने गतिविधिमा लागेको स्रोतले बतायो । उनी वीर अस्पतालकै निर्देशकलाई समेत टेर्दैनन् । उनले वीर अस्पतालको सरसफाइको टेन्डर पनि आफुनिकटलाई दिलाई अस्पतालको सुपरभाइजर आफ्नै व्यावसायीक साझेदार मिनालाई बनाएका छन् ।

 

केहीदिन पहिले अस्पतालले सुरक्षा गार्डको टेन्डर गरेको थियो । पनेरुले २५ लाख कमिसन लिएर आफुनिकटलाई दिन अस्पताल प्रशासनलाई दवाव दिएको आरोप छ । आफू निकटलाई दिन नपाएपछि ठेक्का नै रद्द गराएको आरोप उनीमाथि छ । पनेरुले कतिसम्म गरेका छन् भने अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधी विना आदेश मगाएका थिए । म्याद सकिएपछि सो औषधी अस्पतालमै राख्नुपर्छ भन्दै दबाव दिएका थिए । उनको उद्देश्य अस्पतालको सुधार होइन यहाँ बसेर कमाउधन्दा चलाउने मात्रै भएको उनी निकट एक कर्मचारी बताउँछन् । टेन्डर नदिन र मेडिकल स्टोरमा अनियमितता गर्न नपाएपछि उनी यतिबेला उपसचिवको सरुवा गर्न लागि परेका छन् ।

उनी विरुद्ध नक्कली मेडिकल रिपोर्ट बनाएको भन्दै प्रधानमन्त्री कार्यालय ,स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । उनी हाल मेडिकल स्टोर प्रमुख छन् । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट अनुदान आउने औषधि र उपकरणहरूको विल बनाएर करोडौँ रकम भ्रष्टाचार गरेको आरोप छ । पनेरुले नेपाली काँगेस महाधिवेशनकै लागि भनेर व्यापारीसँग लाखौँ रकम उठाएका छन् । कोरोना भ्याक्सिन लगाउँदा समेत उनले कमिशनको खेल खेलेको आरोप उजुरीमा छ ।

सम्बन्धित खबर