
काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको मतदान अझै सुरु भएको छैन । मतदान साेमबार बिहान ८ बजे सुरु हुने तय भएको थियो ।
प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन्।
तर, सभापतिका उम्मेदवारमध्येका शेखर काेइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलकाे निरीक्षण गरेका छन् । उनीहरु बिहान फरक-फरक समयमा मतदानस्थल पुगेका थिए ।
सभापतिका लागि काेइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेकाे बताए । ‘मतपत्र छापेर ल्याइएकाे छ केही छिनमै मतदान हुन्छ,’ उनले भने ।
मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । मतदानस्थलमा प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ ।
समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।
महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। सात घण्टाभित्र मतदान सकिने घिमिरेको अनुमान छ । प्रत्येक ठाउँमा विभिन्न तहका २९ वटा मतपत्र र २९ वटा बाक्सा हुनेछन् ।