दलित पत्रकार संघ चितवनको साधारणसभा सम्पन्न, ‘चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बितरण

diyopost.com
दियो पोस्ट  आइतबार, पौष ०४, २०७८ | १:१०:३०

चितवन, पुष ३ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाको प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस शनिबार चितवनमा एक कार्यक्रम आयोजना गरि मनाइएको छ । कार्यक्रममा ‘चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७-०७८’ समेत बितरण गरिएको संगठनका जिल्ला अध्यक्ष अमिर रामदामले जानकारी दिए ।

 

‘लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा सहभागीहरूले दलितका मुद्दा तथा घटनाहरूलाई सशक्त रुपमा मिडियाकरण गर्न आवश्यक रहेको बताए । दलित समुदायका मुद्दा तथा घटनाहरू प्राय ओझेलमा पर्ने भएकाले सहभागीहरुले सशक्त मिडियाकरणमा जोड दिएका थिए ।

 

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा दलित समुदायका पत्रकारहरूको निकै ठूलो भूमिका रहेको बताए । अध्यक्ष पहाडीले पत्रकारहरू समाज रुपान्तरणको मुख्य अंग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्नका लागि जिल्लाका दलित समुदायका पत्रकारहरूलाई आग्रह गरे ।

 

कार्यक्रममा नेपाल दलित साहित्य तथा सांस्कृति प्रतिष्ठान केन्द्रीय अध्यक्ष रणेन्द्र बराईलीले राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखा सधैँ उत्कृष्ट काम गर्ने शाखा रहेको भन्दै प्रशंसा गरेका छन् । बराईलीले जातीय मुद्दामा सबै एकै थलोमा हुनुपर्ने बताएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले दलित पत्रकारहरूलाई सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष अधिकारीले यस समुदायका पत्रकारहरूको लागी आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका लागि महासंघ अग्रसर रहने बताए ।

कार्यक्रममा चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार निशा सुनार गहतराजलाई प्रदान गरिएको छ । उनलाई नगद राशी १५ हजार रुपैयासहित पुरस्किृत गरिएको हो । गहतराज कपिलवस्तुस्थित चन्द्रौटाकी क्रियाशील पत्रकार हुन् । त्यस्तै, ‘चुडामणी बराल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७-०७८’ बाट चितवनका गोपाल परियार पुरस्किृत भएका छन् । उनलाई नगद ५ हजार रुपैयासहित पुरस्कृत गरिएको अध्यक्ष रामदामले जानकारी दिए । कार्यक्रममा चुडामणी बराल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार २०७७-०७८ बाट चितवनका राजेश घिमिरे समेत पुरस्कृत भएका छन् ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज बुद्धिबहादुर विश्वकर्मा, संघका संस्थापक सल्लाहकार निशा सुनार गहतराज, संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, संघका बागमती प्रदेश सहसचिव सरोज उपरोकोटी, नेपाल प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य, फोनिज चितवन उपाध्यक्ष तुलमान गुरूङ्ले शुभकामना व्यक्त गरेका थिए।

कोष स्थापनार्थका लागी पहिलो सहयोग राशी २५ हजार रूपैयाँको प्रतिवद्धता पत्रकार बुद्धिबहादुर विश्वकर्माले गरेका छन्। त्यस्तै पत्रकार विश्वकर्माले आफ्नो आमाको नाममा आगामी वर्ष देखि हरेक वर्ष चितवन शाखा मार्फत १५ हजार रुपैयाँ बराबरको जानुका विश्वकर्मा लेखाबितृ पत्रकारिता पुरस्कार वितरण गर्ने घोषणा गरेका छन्।

साधारणसभाले संघका सचिव श्याम विश्वकर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलिना पोख्रेल प्रितिले प्रस्तुत गरेकी आर्थिक प्रतिवेदन पारित तथा अनुमोदन गरेको छ । त्यस्तै शाखाको भावी कार्ययोजना र बजेट सर्वसम्मत रूपले पारित गरिएको छ ।
पत्रकार महासंघ चितवनको सभाहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाका अध्यक्ष अमिर रामदामको अध्यक्षता तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय अध्यक्ष बिनोद पहाडीको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस सम्पन्न भएको हो ।

सम्बन्धित खबर