नर्भिक हस्पिटलमा मृगौला प्रत्यारोपण सेवा सुरु

दियो पोस्ट  

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नर्भिकले हालसम्म २ जना व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जानकारी दिएको छ । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला र ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ ।

विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा। आर।के। अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपणको काम गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बताएका छन् । मिश्रका अनुसार मृगौला प्रत्यारोपण गर्दा १२ देखि २० लाख रूपैयाँसम्म खर्च हुन्छ । ‘खर्च बिमारीको अवस्थाअनुसार हुन्छ, हामीले १२ देखि २० लाख सम्म खर्च हुने अनुमान गरेका छौं ’, उनले भने ।

उनले नेपालको मृगौला प्रत्यारोपण विश्वमै सस्तो भएको र नर्भिक अस्पतालमा लाग्ने खर्च पनि मध्यम आर्थिक अवस्था भएकाहरुका लागि सहज भएको बताए ।

नर्भिकले ३ महिना अगाडि मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लाइसेन्स पाएको थियो । कार्यकारी अधिकृत मिश्रका अनुसार आजभन्दा १७ दिन अगाडि पहिलो मृगौला प्रत्यारोपण सेवा शुरु गरेको हो । दुई वटा मृगौला प्रत्यारोपणमा सफलता पाएपछि अस्पताल सेवामा उत्साहित भएको उनले बताए । अस्तालमा भएको जनशक्ति र प्राविधिक पक्षलाई हेर्दा मृगौला प्रत्यारोपणको क्षेत्रमा धेरै काम गर्न सक्ने उनको भनाइ छ ।

नर्भिकले कोभिड महामारीपछिको २ वर्षमा उपचारको क्षेत्रमा धेरै नयाँ सेवा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रको भनाइ छ । उनका अनुसार आइभिएफ सेवामा राम्रो पहिचान बनाएको नर्भिकले डर्माटोलोजी र कस्मेटिक सेवा पनि विस्तार गरेर सञ्चालन गरिरहेको छ । अस्पतालले कलेजो प्रत्यारोपणको लागि लाइसेन्स प्रकृया अगाडि बढाएको भन्दै अधिकृत मिश्रले प्रकृया पुरा भएमा आगामी ६ महिनाभित्रमा सेवा सञ्चालन हुन सक्ने बताए ।

सिफारिस