काठमाडौं । लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेश सभा सदस्य पुनमगरलाई पार्टी प्रवेश गराएका हुन् । पुनमगरले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनमा रोल्पाबाट पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले रोल्पा (२)बाट तत्कालीन चुनावी गठबन्धनबाट कांग्रेसमा अमरसिंह पुनलाई उम्मेदवार बनाएको थियो । जसको विरुद्धमा माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर पुनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी स्वतन्त्र उम्मेदवार बनेपछि माओवादीले पार्टीबाट निष्कासन गरेको थियो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki Editor in Chief: Sudip Bishwakarma