लिखु गाउँपालिका उपाध्यक्षलाई सस्तो लोकप्रियताको हुटहुटी, भन्छिन्– ‘सेवासुविधा उपभोग गर्छु, पुरानो गाडी चढ्दिन’

दियो पोस्ट  

काठमाडौं । मंगलबार मध्यरातमा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले सामाजिक संञ्जाल फेसबुक मार्फत सरकारले उपाध्यक्षका लागि दिईएको सवारीसाधन प्रयोग नगर्ने घोषणा गरिन् । निर्वाचित भएलगत्तै पालिकामा नयाँ एम्बुलेन्स नआएसम्म आफ्नो सवारी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी उनले पालिकाको आफ्नै एम्बुलेन्स आएपछि पनि सरकारी सवारी साधन प्रयोग नगर्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत पुरानो गाडी प्रयोग गर्दा मर्मतमा मात्र धेरै पालिकालाई आर्थिक भार पर्ने भन्दै सार्वजनिक सवारी नचड्ने घोषणा गरेकी हुन् । तर, उपाध्यक्ष थापाले भने लोकप्रियताका लागि मात्रै यस्तो घोषणा गरेको पाईएको छ । लोकप्रियतासँगै नयाँ सवारीसाधन पाउने लालसामा उनले आफ्नो सवारी साधन पुरानो भएको भन्दै सरकारी सवारी प्रयोग नगर्ने बताएकी हुन् ।

‘म सरकारी गाडी नचड्ने होइन, उपाध्यक्षले पाउने सबै सेवा सुविधाहरु लिन्छु,’ उपाध्यक्ष थापाले दियोपोस्टसँगको संवादमा भनिन्,‘पालिकाले उपाध्यक्षका लागि दिने सबै सेवासुविधाहरु उपभोग गर्छु, अर्को नयाँ गाडी वा मोटरसाईकल पालिकाले दियो भने त्यो पनि उपभो गर्छु । तर त्यो पुरानो गाडी चढ्दिन । यदि सेवाधा केही नदिएको खण्डमा सार्वजनिक सवारीसाधनमा सवार गरेको भाडाको जिम्मेवारी पालिकाले लिनुपर्छ ।’ साथै आफूलाई गाडी वा मोटरसाईकल चलाउन नआउने भन्दै सवारी साधनसँगै चालक पनि आवश्यकता पर्ने बताएकी छन् ।

उपाध्यक्षले पुरानो भएको भनिएको गाडी आर्थिक वर्ष २०७६–०७७ मा मात्रै खरिद गरेको थियो । उक्त गाडीको अगाडिको सिसा फुटेको भएपनि अन्य केहीमा पनि खराबी नभएको पुर्वउपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिइन् । उनले भनिन्,‘मैले हस्तान्तरण गर्दा सो गाडीमा कुनै पनि खराबि आएको थिएन । अगाडीको सिसा चाहिँ थोरै फुटेको थियो । गाडी पुरानो होइन नयाँ नै हो ।’

उपाध्यक्षले गाडी त्यागेको कुनै पनि औपचारीक जानकारी नपाएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लिलाराज श्रेष्ठ बताउछन् । यस विषयमा जिज्ञासा राख्दा प्रमुख प्रसाशकीय अधिकृत श्रेष्ठले भने, ‘उपाध्यक्षले गाडि त्याग्नुभएको लिखित रुपमा कुनै पनि पत्र पालिकामा दर्ता गराउनु भएको छैन । यदि दर्ता भयो भने यो गाडीको व्यवस्थापन कसरी गर्ने कार्यपालिकाले निर्णय गर्छ । सामाजिक सञ्जालमा गाडी त्यागेको कुरालाई आधिकारीक मान्न सकिदैन ।’

अध्यक्षले चड्ने गाडी भन्दा उपाध्यक्षले चड्ने गाडी पहिले खरिद गरेको गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले बताए । ‘अध्यक्ष र उपाध्यक्षको गाडीले १० १२ जना विरामीहरुलाई सेवा दिएको सत्य हो ।’ उनले भने,‘उपाध्यक्षको गाडी मेरोभन्दा पछि खरिद गरिएको हो, मेरो गाडी पुरानो भएको छैन उहाँको कसरी पुरानो भयो थाहाँ छैन ।’

उपाध्यक्ष थापाले सस्तो लोकप्रियताकै लागि मात्रै यस्तो स्टन्ट लिएको पालिकाका प्रवक्ता मोहन कार्कीले बताए । ‘उपाध्यक्षले गाडी पुरानो भयो भनेर भन्नु भएको छ, तर मर्मत खर्च त पालिकाको नै जाने हो नि ।’ प्रवक्ता कार्कीले भने,‘उहाँको यो लोकप्रियताको लागि लिईएको स्टन्ट मात्रै हो, यदि उहाँले पुरानो गाडी बेच्नुपर्छ भन्नु भएको भए हुन्थ्यो तर मर्मत खर्च आउछ भनेर त्याग्नु चाहीँ गतल तर्क हो ’

TATA ADD