बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कार्की पक्राउ

दियो पोस्ट  

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार मकवानपुरको साबिक हर्नामाडी गाविस वडा नं ५ परिवर्तित हेटौंडा घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका ५६ वर्षीय सरोज कार्कीलाई पक्राउ गरिएको हो ।

प्रवक्ता कोइरालाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असोज ३१ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, दुई दिन कैद र २२ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएको थियो । उक्त फैसलापश्चात् फरार रहेका कार्कीलाई बुधबार ललितपुरको चापागाउँ दोबाटोबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । पक्राउ परेका कार्कीलाई सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उनको भनाइ छ ।