ब्ल्याकमेल गरी पुरूषसँग पाँच करोड रकम माग्ने महिला पूर्पक्षका लागि जेल चलान

दियो पोस्ट  

दाङ । दाङ तुलसीपुरका एक व्यक्तिलाई ब्ल्याकमेल गरेर करोडौं रकम माग्ने मुख्य योजनाकार महिलालाई अदलातले पूर्पक्षका लागि थुनामा पठाएको छ।

दाङ जिल्ला अदालतले आइतबार थुनछेक बहसपछि गढवा गाउँपालिका–६ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका–६ मा बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराजलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले गहतराजलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र अन्य दुई जनासँग जनही एक–एक लाख रूपैंया धरौटी मागेको अदालतका श्रेस्तेदार हिरण्य भण्डारीले जानकारी दिए।

प्रहरीले सुरूमा अपराधिक लाभ मुद्दा चलाइएका आरोपित तीनमध्ये तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलाकी ३६ वर्षीया कृष्णीकुमारी बस्नेत पनि मागेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएकी छन्। यस्तै घोराही उपमहानगरपालिका–१० नारायणपुरका २७ वर्षीय रूद्रबहादुर केसी एक लाख धरौटी बुझाएर छुटेका छन्।

अनुसन्धानका क्रममा मिलेर ब्ल्याकमेल गरि ब्यक्तिबाट लाभ लिन खोजेको देखिएपछि प्रहरीले सुरूमा ‘संगठित अपराधिक लाभ’ शीर्षकमा मुद्दा चलाएको थियो।

मुख्य योजनाकार गहतराजसहित अन्य दुई जनाले पीडित भनिएका तुलसीपुरका एक ब्यक्तिलाई ‘ब्ल्याकमेलिङ’ गर्दै पाँच करोड रकम मागेका थिए।