प्रचण्डको ज्वाँईको विषयमा प्रकाशित विज्ञप्ति फर्जी रहेको दाबी !

दियो पोस्ट  

काठमाडौं । प्रचण्डको ज्वाँईको विषयमा प्रकाशित विज्ञप्ति फर्जि रहेको पाईएको छ । शुक्रबार ‘सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन’ले प्रचण्डका ज्वाँई समेत रहेका प्रदेश एकका सांसद जिवन आचार्यलाई मन्त्री बनाउने विषय आपत्तिजनक रहेको उल्लेख गरिएको विज्ञप्ति फर्जि भएको पाईएको हो ।

शनिवार ‘सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसन’ले आफ्नो लेटरहेड दुरुपयोग भएको एक विज्ञप्ति मार्फत जनाएको छ । फाउन्डेसनका महासचिव र अध्यक्षले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आफ्नो लेटरहेड प्रयोग गरी प्रदेश १ सरकारको मन्त्रीमण्डल गठनको विषयलाई लिएर जारी गरिएको विज्ञप्तिप्रति फाउन्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘फाउन्डेसनले सरकार गठन र मन्त्रीपरिषद्को विषयमा कसैको समर्थन र विरोध गर्दैन, यो नेकपा (माओवादी केन्द्र)को आन्तरिक पार्टी जीवनको प्रश्न हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो लागि पार्टीका सबै नेता र माननीय सांसदहरु समान हुनुहुन्छ । प्रदेश १ को सरकार गठनका सन्दर्भमा पार्टीको औपचारिक निर्णय नै आधिकारिक हो, जुन निर्णयबाट नै माओवादी केन्द्रका २ जना माननीयज्यूहरुले मन्त्री पदको शपथ लिनुभएको कुरा स्पष्ट नै छ ।’

पार्टीले आधिकारिक रुपमा निर्णय गरेको विषयलाई सार्वजनिक आलोचनाको विषय बनाएकोप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अध्यक्ष नविन विष्णु पोखरेल र महासचिव अटल आचार्यले जारी गरेको पछिल्लो विज्ञप्तिमा फाउन्डेसनको लेटरहेड र छापको दुरुपयोग गरी पार्टीका नेताहरुको समर्थन वा आलोचना नगर्न अनुरोध समेत गरिएको छ ।

यसअघि महासचिव आचार्यको नाममा प्रदेश १ को सरकार गठनका सन्दर्भमा माओवादी केन्द्रबाट सिफारिस भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जिवन आचार्यको मन्त्री नियुक्तिको विषयमा आलोचना गर्दै विज्ञप्ति जारी भएको थियो ।