मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैन : मन्त्री लिङदेन

दियो पोस्ट  

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरू यो एक्स्पोले अझै सहयोग गर्नेछ। कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन’, उनले भने, ‘संक्षिप्त समय निकालेर म आएको छु। यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरू, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ।’

उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए।