राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र र कृष्ण सिटौलाको नाम

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल सुरु भएको छ । सोमबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बैठक बोलाएका थिए । एक नेताका अनुसार देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका हुन् । यसअघि पौडेलमात्र आकांक्षी देखिएका थिए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ६ पुसमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक बन्न पुगे । त्यस बेला उनलाई राष्ट्रपतिको आश्वासन दिइएको कांग्रेस नेताहरु बताउँछन् ।

१० पुसमा गठबन्धन भत्कियो, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनाएको थियो ।
सरकार गुमेपनि कांग्रेसले त्यही बेलादेखि राष्ट्रपति लिने गरी माओवादीसँग सम्बन्ध सुधार थालेको थियो । त्यही कारण २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत समेत दियो ।