सीआईबीले भन्यो : क्यान पदाधिकारी पनि अनुसन्धानको दायरामा आउँछन्

दियो पोस्ट  

काठमाडौं । नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङ प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी पनि छानविनको दायरामा आउने बताएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार गरेको पत्रकार सममेलनमा बोल्दै एसएसपी दिनेश आचार्यले प्रारम्भिक अनुसन्धानमा क्यानका कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए ।
‘क्यानको काम खेल आयोजना हो । अहिलेसम्म क्यानका पदाधिकारीको संग्लग्नता देखिएको छैन । स्पट फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउँछन्,’ पत्रकार सम्मेलनमा एसएसपी आचार्यले भने ।

सीआईबीले ४ नेपाली ६ विदेशीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार पूर्व क्रिकेटर मेहबुब आलम र नेपाल टी–२० मा जनकपुर रोयल्सबाट खेलेका अलराउण्डर मोहम्मद आदिल आलम छन् । फ्रेन्चाइज टिमका ६ मध्ये चारजना म्यानेजरकै संगलग्नता भेटिएको प्रहरीले बताएको छ ।

सीआईबीले आफ्नो अनुसन्धानका क्रममा क्यानले आफ्नो साझेदार संस्थाको विश्वसनीयतामा ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय क्रिकेट र राष्ट्रको छविमा समेत प्रभाव पार्नसक्ने महत्व बोकेको नेपाल टी–२० लिगको रणनीतिक तथा व्यपारिक साझेदार, फ्रेन्चाइज टिमहरुको आर्थिक श्रोत, विगतमा क्रिकेट संघसँगको आवद्धता, पारदर्शीता, जवाफदेयिता र उत्तरदायित्व वहन गर्नसक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ ।