अभिषेक गिरीको जेल सरूवा कार्यान्वयन गर्न उच्च अदालतको आदेश

दियो पोस्ट  

काठमाडौं । मोरङ कारागारका चौकीदार अभिषेक गिरीको जेल सरूवा कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। कैद सजाय भुक्तान हुन बाँकी रहेको एक महिनामात्रै बाँकी हुँदा सरूवा भएको भन्दै गिरी सरूवा रोक्न माग गर्दै अदालत गएका थिए। उनको रिटमाथि अदालतले कारागार व्यवस्थापन विभागले गरेको सरूवा कार्यान्वयन गराउन आदेश गरेको हो।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजालसले यस्तो आदेश गरेको हो ।

चौकीदार गिरीले कैद भुक्तान सकिन लाग्दा कारागार व्यवस्थापन विभागले मकवानपुर कारागार स्थानान्तरण गरेको र त्यो गैरकानुनी भएको भन्दै माघ ३ मा उच्च अदालत विराटनगरमा सरूवा बदर गरिपाऊँ भन्दै उत्प्रेषण परमादेशको माग राख्दै रिट हालेका थिए। गिरीले कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कारागारलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए।

उक्त रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले कारागार व्यवस्थापन विभागले गरेको स्थानान्तरण कानुनी रूपमा त्रुटिपूर्ण नदेखिएकोले नियमानुसार पेस गर्न अदालतले आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।