दाङ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै जना उम्मेदवार कायम रहेका छन् । लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो ।
सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ ।
उपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टि भएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पारिन् ।