काठमाडौं ।२०७९ पुसको १० गते। बिहान करिब ७ बजे चिनियाँ नागरिक ली हासोङ दुई वटा वजनदार सुटकेशसहित फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुन्छन्।
त्रिभुवन विमानस्थलको भन्सार जाँचको एक्स-रेमा उनको सुटकेशमा सुन जस्तो देखिन्छ । ठूलो मात्रामा विद्युतीय चुरोट (भेप) ल्याएको भन्दै भन्सारले (आरसी) अर्थात रिचेक लेखेर दुबै सुटकेश नियन्त्रणमा र राहदानी राखेर उनलाई छाडिदिन्छ।
ती चिनियाँ नागरिक भोलिपल्टै आफ्नो राहदानी फिर्रता लिन भन्सार कार्यालय पुग्छन्। भन्सारले पनि सजिलै राहदानी फिर्ता दिएपछि होसङ आफ्नो मुलुक फर्कन्छन् ।
भन्सारले नियन्त्रणमा लिएको दुई सुटकेश डेढ महिनासम्म अध्यागमनकै एक छेउमा थन्कायो। दुई महिनापछि २९ माघमा त्यो सुटकेश विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारियो।
यसैबीचमा विमानस्थल भन्सार कार्यालयकै पूर्वसुरक्षागार्ड निर्मल विकले सुटकेशमा रहेको विद्युतीय चुरोटभित्र सुन लुकाइएको थाहा पाउँछन्। उनले एउटा चुरोट निकालेर परीक्षण गर्दा धुँवा आएन । शंकास्पद लागेर फुटाएर हेर्दा त्यसमा उनले सुन देखे।
यो खबर विस्तारै भन्सार एजेन्टको रुपमा रहेका दिनेश बस्नेतले थाहा पाउँछन्। दिनेशले सुन हत्याउने नाटकीय योजना बुन्छन् –सुटकेश भित्र अर्को विद्युतीय चुरोट लगेर राख्ने र चिनियाँ नागरिकले ल्याएको भेपसहितको सुन बेच्ने’ ।
उनी एक्लैलाई यो काम फत्ते गर्न सम्भव थिएन। यसमा उनको सारथी बन्छन् भन्सारकै मुद्दा शाखामा कार्यरत नायब सुब्बा रेवन्त खड्का।
उनीहरुकै योजना अनुसार २९ फागुनमा नासु खड्काले दुईवटा सुटकेश मुद्दा कोठाबाट भन्सारको फोहोर राख्ने कोठामा पुर्याउँछन्। त्यहाँ सिसी क्यामेरा पनि नभएकाले भेप राखिएको भनिएको सुटकेशमा छेडखानी गर्न उनीहरूलाई सहज हुन्थ्यो।
भेप भनेर राखिएको सुटकेशमा छेडखानी भएको सूचना चुहिएपछि भन्सारका कर्मचारीले सुटकेश खोलेर हेर्दा पहिलेभन्दा छुट्टै प्रकारको विद्युतीय चुरोट भेटिएपछि घटना बाहिरिएको थियो।
भन्सारले २०८० बैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गर्यो। उजुरीपछि सिआइबीले डिएसपी दुर्गा दाहालको नेतृत्वमा छानबिन समिति बनायो। समितिले दुई महिना लामो अनुसन्धान गरेपछि भन्सारका कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गर्यो।
सिआइबीको अनुसन्धान अनुसार उनीहरूले मार्च १८ देखि १५ अप्रिलसम्ममा विद्युतीय चुरोट साटफेर गरेका थिए।
अनुसन्धानकै क्रममा सिआइबीले २०८० जेठ ३० गते भन्सारमा कार्यरत सुब्बा रेवन्त खड्कालाई पनि पक्राउ गर्छ । सिआइबीले सोधपुछ गर्दा खड्काले तस्करीको सुन चोरेको मात्रै नभइ त्यसबापत ६५ लाख रुपैयाँसमेत लिएको बयान दिए।
तस्करीको करिब ९ किलो सुन ६ करोडमा बिक्री भएको अनुसन्धानमा खुलेको थियो।
सीआइबीको हिरासतमै रहेको समयमा भन्सारका सुब्बा रेवन्त खड्कालाई छुटाइदिने भन्दै एउटा ठूलो डिल हुन्छ। त्यही डिलमा पक्राउ पर्छन्– क्राइम बिटमा लेख्ने पत्रकार डिल्लीप्रसाद पाण्डे।
विभिन्न दैनिक पत्रिका, अनलाइन हुँदै पछिल्लो समय आफ्नो समेत लगानीमा स्थापित ब्रेकएनलिंक्स डटकम नामक अनलाइन न्युज पोर्टलका संचालक रहेको पाण्डेको अपराध यात्रा अहिले सीआइबीको हिरासतमा पुगेर दस्तावेजिकरण भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतममा बुझाएको अभियोग पत्र अनुसार पाण्डेले हिरासतमा रहेका रेवन्त खड्कालाई छुटाउन सीआइबीको अनुसन्धान अधिकृत र एआइजीसम्मलाई प्रयोग गरेर मुद्दा कमजोर बनाउने कसम खाएका थिए। त्यसमा उनले लाखौँ रकम हात समेत पारेको अभियोग पत्रमा उल्लेख छ।
चलचित्रको पटकथा जस्तो देखिने यो कथाको शुरुवात रेवन्त खड्काकी श्रीमती विष्णुमाया चौधरी उर्फ विबिकाबाट सुरू हुन्छ ।
बिबिका अमेरिका बस्छिन्। पक्राउ परेका श्रीमानलाई छुटाउन सकिन्छ कि भनेर उनले सामाजिक सञ्जालमार्फत नेपालमा रहेका आफन्तहरूसँग सम्पर्क गर्छिन्।
त्यसक्रममा उनले आफ्ना मामाका छोरा निरेश चौधरीलाई सम्पर्क गर्छन्।
निरेश काका खुसिराम चौधरीको घरमा बस्थे। नागार्जनु नगरपालिका-१ बुद्धभूमिमा खुसिरामको किराना पसल छ। निरेश काकाकै किराना पसलको रेखदेख गर्थे।
किराना पसल भएको घरको भुँईतला भाडामा लिएर बसेकी रितु राईसँग उनको राम्रै चिनजान थियो। केही उपाय निस्कन्छ कि भनेर निरेशले रितुलाई घटनाबारे सुनाए। उनले अपेक्षा अनुसार ढाडसपनि पाए।
‘रितु राईलाई मैले भेटी सम्पूर्ण कुरा जानकारी गराउँदा रेवन्त खड्काको परिवारसँग मेरो भेट गराउनु म कुरा गर्छु मिले निज रेवन्त खड्कालाई छुटाउन सकिन्छ । सिआइबीमा मैले सबै चिनेकी छु म कुरा गरी काम गर्न सक्छु भनिन्,’सरकारी वकिलको कार्यालयमा निरेशले बयानमा भनेका छन्, ‘रितु राईले भनेको सबै कुरा मैले अमेरिकामा रहेकी दिदी बिबिका भन्ने विष्णु माया चौधरीलाई जानकारी गराएँ । चौधरीले रेवन्त खड्काको परिवारसँग कुरा गरिछन्।’
निरेशको माध्यमबाट त्यस्तो मान्छे भेटिएपछि विविकाले त्यसबारेमा नेपालमा रहेका रेवन्तका बाबु अमर बहादुर खड्का लगायतलाई जानकारी गराउँछन् र सिआइबीसँग सेटिङ गर्ने मान्छे भेटिएको भन्छन्। रितुसँग भेटेरै कुरा गर्न पनि उनले आग्रह गर्छिन्।
त्यसपछि रेवन्तको मामा बताउने अशोक न्यौपाने र रितु राईले बानेश्वरको आइप्लेक्स मलमा भेट गर्छन्।
भेटमा अशोकले आफू अष्ट्रेलिया बस्ने र रेवन्तको बुवाको पनि आर्थिक अवस्था राम्रो भएकाले पैसाको पीर नगर्न, कसरी हुन्छ छुटाउन अनुरोध गर्छन्। पछि सिआइबीसँग रितु आफैंले यसलाई स्वीकार गरेकी छन्।
त्यसपछि रितुले अशोकको प्रस्तावलाई समर्थन गर्दै रेवन्तलाई सेटिङ मिलाएर छुटाउने बताएकी थिइन्।
त्यसपछि जोडिन्छन् पत्रकार डिल्लीप्रसाद पाण्डे।
पाण्डे र रितुबीच त्यसभन्दा २ वर्षअघि सामाजिक सञ्जालबाट चिनजान भएको थियो। कुराकानीकै क्रममा पाण्डेले प्रहरीमा धेरै ठूला र उपल्ला दर्जामा रहेका अधिकृत मात्रै होइनन् सीआइबी प्रमुख किरण बज्राचार्यसँग समेत आफ्नो राम्रो चिनजान रहेको सुनाएका थिए।
पटक-पटक हुने चियागफमा समेत पाण्डेले सीआइबीका उच्च अधिकारी र अनुसन्धान अधिकारीसँग आफ्नो राम्रो हिमचिम रहेको बताएका थिए। उनै डिल्लीसँग फोन र फेसबुक म्यासेन्जरमा रेवन्त खड्कालाई छुटाउने विषयमा बुझ्न रितुले प्रस्ताव गर्छिन्।
रितुले भनेको अनुसन्धान अधिकृतसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै पाण्डे सेटिङ गर्न तयार हुन्छन्।
‘तपाईंले रेवन्त खड्काको आफन्तसँग कुरा गर्नु र मलाई के कुरा हुन्छ, जानकारी गराउनु भनि डिल्लीप्रसाद पाण्डेले मलाई भनेपछि निजको विश्वासमा परी हुन्छ मैले रेवन्तको आफन्तसँग कुरा गर्छु तपाईंले सीआइबीसँग कुरा गर्दै गर्नु भनेकी थिएँ,’ रितुले बयानमा भनेकी छिन्।
त्यसबीचमा रेवन्तको मामा भनिने अशोकले डिलमा आफूलाई पनि फाइदा हुनेगरी खेल्न खोजेको भान पाएपछि रेवन्तका बाबुले नै रितुसँग भेट्न चाहन्थे।
रेवन्तलाई छुटाउनेबारे के भइरहेको छ भनेर बुझ्न रितुले पाण्डेलाई सम्पर्क गर्दा पाण्डेले आफूले चिनेकै पिलर नम्बर ७ का डिएसपी दुर्गा दाहाल र ईन्सपेक्टर सुशिल घिमिरेले छानबिन गरिरहेको जवाफ दिने गरेका थिए।
तिनै अनुसन्धान अधिकृतलाई भनेर प्रमाण नष्ट गराएर मुद्दालाई कमजोर बनाएर मिलाउने सकिने बताउँदै पाण्डेले त्यसवापत् जति सक्छ त्यति पैसा माग्न भनेका थिए।
‘तपाईंले जति माग्न सक्नुहुन्छ माग्नुस्, दिएको रकमको आधा मलाई चाहिन्छ भनेका थिए,’ पाण्डेको भनाई उदृत गर्दै रितुले बयानमा भनेकी छन्।
त्यसपछि रितुले निरेश चौधरीलाई भेटेर सबै कुरा मिलेको सुनाउँछिन्। पछि डिल्लीले पनि रेवन्तका बाबुसँग भेट्न भन्छन्।
डिल्लीकै आग्रहमा रितुले रेवन्तका बाबु अमर बहादुरसँग भेटघाटको वातावरण मिलाउँछिन् ।
त्यतिबेला निरेशले चार करोड रुपैयाँ डिल गर्ने प्रस्ताव रितुलाई गरेको बयानमा उल्लेख छ । तर, रितुले यो रकम बढी हुन्छ भन्दै एक करोड १५ लाख रुपैयाँबाट शुरु गर्ने प्रस्ताव गर्छिन् ।
२०८० जेष्ठ १० गते उनीहरुको भेट अनामनगरको निम्तो रेष्टुरेन्टमा हुन्छ । त्यतिबेला रितुले नै फोन गरेर अमरबहादुर लगायतलाई बोलाएकी थिइन् । भेटमा अमरबहादुरले आफ्ना छोरालाई हिरासतबाट निकाल्न अनुनय गर्छन्।
रितुले सिआइबी प्रमुख किरण बज्रचार्यसँग नै आफूहरूको राम्रो चिनजान भएको बताउँदै रेवन्तलाई छुटाउन सक्ने तर डिल मिल्नुपर्ने बताइन्।
‘तपाईंहरुसँग कुरा मिल्यो भने म रेवन्त खड्काको मुद्दाहरु प्रमाण नष्ट गर्न लगाई मुद्दा कमजोर बनाई छुटाउन सक्छु,’ रितुले जिम्मा लिँदै प्रश्न भनिन्,‘रेवन्तलाई छुटाउने जिम्मा मेरो भयो । त्यसका लागि खर्च लाग्छ । तपाईंले कति पैसा दिन सक्नुहुन्छ ?’ उनले त्यतिबेला भनेकी थिइन्।
उनको प्रश्नमा अमरबहादुरको जवाफ थियो- छोरालाई छुटाउन जति परेपनि खर्च गर्न तयार छु।
त्यसपछि उनीहरुबीच यस्तो बार्गेनिङ् चल्यो—
अमर बहादुर खड्का : कति लिनुहुन्छ ?
रितु राई : यदि काम गर्ने हो भने एक करोड १५ लाख चाहिन्छ ।
अमर बहादुर : एक करोड दिन सक्छु ।
रितु राई : एक करोड ५ लाख दिनु होला ।
अमर बहादुर : ठिक छ म दिन्छु । मेरो छोरा रेवन्त जसरी भएपनि हिरासत मुक्त हुनुपर्यो । अरू कुरा फोनमा गरौँला ।
डिल गरेर उनीहरू घर तर्फ निस्किए । निम्तो रेष्टुरेन्टमा भएको सम्पूर्ण डिलको सूचना रितुले डिल्ली पाण्डेलाई सुनाइन्।
सूचनापछि डिल्लीले मुद्दाको म्याद पनि धेरै नभएकाले रकम चाँडै लिइहाल्न सुझाउँछन्। रितुले पछि समस्या हुने हो कि भन्दै संशय प्रकट गर्छिन् तर सबै जिम्मा आफ्नो भएको आश्वासन दिँदै ढुक्क रहन भने।
‘केही फरक पर्दैन। सीआइबीलाई मिलाउने जिम्मा मेरो भयो । तिमी रेवन्तको बुवासँग छिटो छिटो पैसा लिइहाल भनेका थिए,’ रितुले बयानमा भनेकी छिन्।
२०८० जेष्ठ १४ गते विबिका चौधरीले अमेरिकाबाट निरेशको नाममा २ लाख रुपैयाँ आइएमई गरिदिन्छिन्। निरेशले उक्त पैसा माछापोखरीस्थित ग्लोबल आइएमई बैंकको आफ्नो खातामा लोड गराएर रितु राईको खातामा ट्रान्सफर गरिदिन्छन्।
त्यहाँबाट सोह्रखुट्टेतर्फ ट्याक्सीमा जाँदै गर्दा रितुले किर्तिपुर जानुछ तिमी पनि हिँड भन्दै निरेशलाई प्रस्ताव गर्छिन् । त्यहाँ अमरबहादुरले रितुलाई पैसा लिन बोलाएका थिए । रितुले त्यतिनै बेला एउटा प्राइभेट कार मगाउँछिन् । मारुती सुजुकी कारमा उनीहरु किर्तिपुर तर्फ हुँइकिन्छन् ।
किर्तिपुरस्थित बन्दै गरेको एउटा घरमा उनीहरुको भेट हुन्छ । अमरबहादुरले २९ लाख ५० हजार रुपैयाँ दिन्छन् । बाँकी रकम केहीदिनमा दिन्छु भन्दै उनले रितुलाई एउटा सर्तमा हस्ताक्षर गराउँछन् –पैसा बुझेको भरपाई। रितुले विश्वासमा दिलाउन आफ्नो नागरिकताको फोटोकपि दिन्छिन् । नागरिकताको फोटोकपी पछाडी रितुले बुझेको रकम, अंक र अक्षरमा मिति समेत लेखेर निरेश चौधरीको समेत हस्ताक्षर गरिदिन्छन् । यसरी जति पटक पैसा बुझेपनि उनीहरुले हस्ताक्षर गर्ने गरेका थिए ।
पहिलो पटक रितुले बुझेको २९ लाख ५० हजार रुपैयाँबाट शालिकराम थापा भन्ने गाडी चालकलाई ५० हजार दिइन् । ५ लाख रुपैयाँ निरेश चौधरीले पाए । २३ लाख रुपैयाँ आफैले राखिन् ।
रितुले सोही दिन दरबारमार्गस्थित ओलिज स्टोरमा २ लाख २४ हजारमा आइफोन १४ प्रो-म्याक्स खरिद गरिन् । त्यसको दुई दिनपछि अमर बहादुरले फेरि पैसा लिन बोलाए।
त्यतिबेला उनले थप १९ लाख रुपैयाँ लिइन् । यसरी उनीसँग बाँकी रहेको रकम समेत जोडेर रितुले २७ लाख रुपैयाँ डिल्ली पाण्डेलाई दिएको बयान दिएकी छिन् ।
बानेश्वरस्थित आईप्लेक्स मलमा पाण्डेलाई भेटेर नगद २७ लाख रुपैयाँ दिएको रितुको बयानमा भनेकी छन्।
त्यतिबेला पाण्डेले रितुलाई सबै सबुद प्रमाणहरु नष्ट गर्ने काम भएको, मुद्दा कमजोर बनाएर लाने योजना अनसार नै काम भएको बताउँदै काममा फरक नपर्नेगरी सबै मिलाएको बताएका थिए।
काम अन्तिम चरणमा पुगेकाले अमर बहादुरसँग बाँकी रकम लिने चाँजोपाँजो मिलाइहाल्न भनेका थिए।
यसरी रितुले जतिपटक पैसा लिन्थिन् सो जानकारी डिल्लीलाई गराउँथिन् । उनले अमर बहादुरको परिवारबाट लिएको रकमबाट सशस्त्र प्रहरीका निरिक्षक सरोज कटुवाल, प्रहरी जवान युनेश राई र सशस्त्रकै ईन्सपेक्टर अनिल खड्कालाई सापटी दिइन् । खड्काले ७ लाख रुपैयाँ र युनेश राईले ७ लाख ४८ हजार लिएको बयानमा उल्लेख छ । प्रहरी निरीक्षक कटुवालले १३ लाख रुपैयाँ पाएछन् । यसरी रितुले अमर बहादुर खड्का र उनकी बुहारी बिबिका चौधरीबाट पटक पटक गरि १ करोड ७ लाख ८० हजार रुपैयाँ लिइन्।
डिलअनुसारको पैसा लिएपछि रितुले पाण्डेसँग रेवन्त छुट्नेबारे अपडेट लिइन्।
‘८ नम्बर पिलर होइन त? इन्स्पेक्टरको नाम के घिमिरे भन्नुभयो रे?,’ मेसेन्जरमा उनले पाण्डेलाई प्रश्न गरिन्। पाण्डेको जवाफ छ- ‘सुशिल’ ।
त्यसपछि आएको हो अभियुक्त छुटाउन एक करोड डिल भएको काण्ड।
पैसाको डिल भएपछि साउनमा रेवन्त छुट्ने भनिएको थियो। साउन २ गते छोरा छुट्ने विश्वास लिएर अदालत पुगेका अमरबहादुरको विश्वास निमेषभरमै टुटे।
त्यसदिन अदालतले रेवन्तसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। आदेश पनि रेवन्त कारागार चलान भए।
त्यसपछि मात्रै अमरबहादुरले आफू ठगिएको महशुस गरे। उनी परिवारसहित तत्काल रितुको घर पुगे।
रितु अझै काम हुँदैछ भन्दै थिइन्। ‘मुद्दाको अन्य प्रतिवादीका कारण उनी जेल गएका हुन् । सबै विषय सम्पत्ति सुद्धिकरणले गर्दा राकिएको हो, काम भइरहेको छ’ रितुको जवाफ थियो।
अरू प्रतिवादीका कारण अप्ठ्यारो भएको र सहज बनाउन थप ३५ लाख लाग्ने बताएपछि अमर बहादुरले गत मंसिर २५ गते सिआइबीमै उनीविरूद्ध जाहेरी दिए।
जाहेरीपछि २५ गते नै रितु राई र निरेश चौधरी पक्राउ परे। रितुकै बयानका आधारमा पक्राउ परेका हुन् डिल्ली पाण्डे।
डिल्ली पाण्डे पक्राउ परेको विषय सिआइबीले नै गोप्य राखेको थियो। सञ्चारमाध्यम र पत्रकारलाई पठाउने विज्ञप्तिमा पनि उनको नाम गायभ थियो।
सीआइबीका अधिकारीहरुसँग बाक्लो हिमचिम भएका पाण्डेलाई सुटुक्क छाड्ने सिआइबीकै तयारी थियो । दियोपोस्ट डटकमले पाण्डे पक्राउ परेको खबर सार्वजनिक गरेपछि पाण्डेलाई सुटुक्क छोड्ने योजनाले फेल खाएको छ।
पाण्डे पक्राउ परेको सार्वजनिक भएपछि उनीसँग पनि बयान लिन सिआइबी बाध्य भएको छ। बयानमा भने उनले पैसाको डिलमा आफ्नो संलग्नता नभएको र रितुसँग भने चिनजान रहेको बताएका छन्।
उनले रितुसँग आर्थिक कारोबार, सरसापट पनि चलिरहने र पछिल्लो पटक सात लाख रूपैयाँ पनि सापटी लिएको बयान दिएका छन्।
उक्त रकम लिएको समय र जाहेरवाला अमर बहादुर खड्काले दिएको रकमको समय मिलेको उनको बयानमा उल्लेख छ ।
त्यस्तै आफू अपराध सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार भएका कारण सीआइबीका अधिकारीहरुसँग नियमित सम्पर्क हुने गरेको पनि बयानमा बताएका छन्।
सिआइबी र अनुसन्धान अधिकारी समक्ष पाण्डेको घनिष्ठता बयानमा त देखियो नै उनको भनाईलाई नै अनुसन्धान प्रतिवेदनले समेत समर्थन गरेको छ ।
प्रहरीले चौधरी र राईको कोठा र घर खानतलासी गरेको अभियोग पत्रमै उल्लेख छ । तर, सोही विषयमा बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका पाण्डेको घर वा कोठामा भने प्रहरी पुग्न सकेको छैन।
सिआइबीका अधिकारीमाथि किन भएन छानबिन?
सिआइबीका अधिकारीको नाम लिएर भएको ठगीमा सिआइबीकै अधिकारीमाथि भने आजसम्म अनुसन्धान भएको छैन।
रितु र डिल्ली पाण्डेको कुराकानीबाट सेटिङवाला भनिएका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर सुशिल घिमिरेसँग बयान त लिइएन, उल्टै पाण्डेविरूद्धको उजुरीमा अनुसन्धान गर्ने टोलीमा पनि यी दुई प्रहरी अधिकारी नै छन्।
त्यस्तै रितुबाट पैसा लिने युनेश राई, सशस्त्र प्रहरी निरिक्षकद्वय सरोज कटुवाल र अनिल खड्काको पनि बयान लिइएको छैन ।
उनीहरूले लिएको भनिएको सापटी रकम फिर्ता गराइएको छ । उनीहरुबाट रकम फिर्ता गराउने मात्रै होइन कानुनी कारबाहीको माग समेत हुनुपर्ने हो । तर, सिआइबीले त्यसो गरेको छैन।
सरकारी वकिल कार्यालयले राई, चौधरी र पाण्डेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१)ले निषेधित गरेको उपदफा २ ले परिभाषित गरेको कसुर र उपदफा ३ ग अनुसार सजाय माग गरिएको छ । यो दफा अनुसार अदालतले सात वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना भराउन सक्ने छ ।
बुधबार जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासमा उक्त मुद्दाको थुनछेक बहस थियो । तर, हालसम्म पनि यो मुद्दा हेर्दा हेर्दैमा छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटीमा छाड्न आदेश दिने छ ।
सीआइबीका प्रवक्ता भन्छन्,‘त्यो मलाई थाहा भएन’
यसबारेमा सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीलाई दियोपोस्टले प्रश्न गरेको छ। दियोपोस्टको प्रश्न र एसपी अधिकारीको जवाफ जस्ताको तस्तै—
दियोपोस्ट : यसअघि सिआइबीकै हिरासतमा रहेका नासु रेवन्त खड्कालाई छुटाउने र मुद्दा कमजोर बनाउने भनेर १ करोड ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा रितु राई र निरेश चौधरीलाई पक्राउ गरी सार्वजनिक पनि गर्नुभयो तर, पत्रकार सिआइबीले डिल्ली पाण्डेको नाम किन हालसम्म पनि सार्वजनिक गरेन?
नवराज अधिकारी : उहाँ भोलिपल्ट मात्रै पक्राउ पर्नु भएको थियो, त्यसकारण।
दियोपोस्ट : अनुसन्धानका क्रममा उनीहरुले दिएको बयानलाई आधार मान्ने हो भने सीआइबीकै डिएसपी दुर्गा दाहाल र ईन्सपेक्टर सुशिल घिमिरेको नाम पनि पोलिएको छ । तर, उनीहरुलाई बयानसम्म पनि लिइएको छैन। किन?
नवराज अधिकारी : त्यस्तो छ र मलाई थाहा भएन । यो मुद्दाको अनुसन्धान अधिकारी म होइन । भोलि बुझेर भनौँला ।
दियोपोस्ट : प्रहरी जवान युनेश राई, सशस्त्र प्रहरीका २ जना निरिक्षकले ठगी अभियोगमा पक्राउ परेका रितु राईबाट लिएको रकम फिर्ता गरेपछि मुद्दा चलाइएन । त्यस्तो गर्नु विद्यमान कानुन विपरीत होइन? उनीहरुमाथि पनि मुद्दा चल्नुपर्ने होइन ?
नवराज अधिकारी : यो विषयमा पनि मैले बुझेको छैन । भोलि नै बुझेर भन्नुपर्ने हुन्छ ।
प्रहरीले नै गर्ने हो अनुसन्धान : डिआइजी कुवेर कडायत
यस विषयमा हामीले प्रहरीको केन्द्रीय प्रवक्ता कुबेर कडायतलाई पनि सोधेका थियौं। सिआइबीले ठगी मुद्दामा तीन जनालाई पक्राउ गरेको तर २ जनालाई मात्र सार्वजनिक गरेको विषयमा प्रहरीको हेडक्वार्टर अवगत भएनभएको बुझेका थियौं।
उनले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताए।
सिआइबीको नाम लिएर भएको ठगी भएको घटनाको अनुसन्धान गर्न सिआइबीलाई नै दिएर ठगीमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिन हेडक्वार्टर नै लागेको हो कि भनेर पनि सोध्यौं।
‘सिआइबी भनेको प्रहरी प्रधान कार्यालय मातहतको संस्था हो । यो भन्दा माथिल्लो निकाय नै छैन । अनुसन्धानका लागि, गर्ने नै त्यही निकायले हो,’ डिआइजी कडायतले भने।