बैशाख १५ । दिपक भट्टसँग व्यावसायीक साझेदार देखिएपछि राजिनामा दिएका सुधन गुरुङले स्वकिय सचिव नियुक्त गरेका जेम्स कार्की अहिले पनि मन्त्रालय हाँकी रहेका छन् । केहीदिन जेम्स कार्कीलाई प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले सलामी गर्दै गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो । मर्यादाक्रममा नपरेपनि प्रहरी महानिरिक्षक कार्कीबाट सलामी खाएका पूर्वगृहमन्त्री गुरुङले मन्त्रालयमा नियुक्त गरेको स्वकिय कार्कीले एक फरार अभियुक्तको पक्षमा काम गरिदिन कास्कीस्थित प्रमुख जिल्ला अधिकारीलाई चर्को दबाव दिएको पाइएको छ ।
पोखरा महानगरपालिका वडा नं। १७ घर भई लेकसाइडमा ‘द यात्रा कोर्टयार्ड होटल एण्ड रिसोर्ट’ सञ्चालन गर्ने ५९ वर्षीय रामचन्द्र बहादुर भट्टराई बैंकिङ कसुरको फरार अभियुक्त हुन् । मनाङ स्थायी घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने टासी गुरुङसँग भट्टराईले घरायसी कामका लागि १० लाख रुपैयाँ लिएर भट्टराईले २०८१ कार्तिक २७ गतेको मिति राखेर महालक्ष्मी विकास बैंकको १० लाख रुपैयाँको चेक गुरुङलाई दिएका थिए । तर, गुरुङले उक्त चेक सटहीका लागि नेपाल इन्भेष्टमेण्ट मेघा बैंक, पोखरा शाखामा पेश गर्दा भट्टराईको खातामा पर्याप्त रकम नभएको भन्दै बैंकले पटक–पटक चेक बाउन्स गरिदिएको थियो । आफ्नो खातामा पैसा छैन भन्ने जान्दाजान्दै चेक दिएर ठगी गरेको भन्दै गुरुङले प्रहरीमा जाहेरी दिएका थिए । अभियुक्त भट्टराई प्रहरीको फरार अभियुक्त सुचीमै रहेको बेला प्रमुख जिल्ला अधिकारीलाई भट्टराईको पक्षमा काम गरिदिन कार्कीले चर्को दबाव दिएको पाइएको हो ।
भट्टराईले लुम्बीनी विकास बैंक सोही होटल राखेर ऋण लिएको तर,ऋण नतिरेपछि बैंकले होटल लिलामी गरेको थियो । लिलामी सकार्ने अर्का एक होटल संचालक विरुद्ध भट्टराईले उच्च अदालत पोखरामा मुद्दा दायर गरेका थिए । लिलाम सकार्ने ऋणीले बनाउँदै गरेको होटल निर्माण रोकी पाउँ भन्दै उनले उच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, अदालतले भट्टराईको पक्षमा अन्तरिम आदेश नदिएपछि प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई निर्माणाधिन होटल निर्माण रोक्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई कार्कीले दबाव दिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार कार्कीले पटक पटक सीडिओलाई फोन गरेर होटल निर्माण रोक्न दबाव दिएका थिए । तर, प्रमुख जिल्ला अधिकारीले अदालतले नै लिलाम सकार्ने व्यक्तिको पक्षमा आदेश गरिसकेको हुनाले आफ्नो तर्फबाट कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्ने अडान लिएपछि यो विषय सतहमा आएको हो ।
तर, फरार अभियुक्तकै पक्षमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र त्यहाँका कर्मचारीको मिलेमतोमा गैरकानुनी पत्राचार भएको समेत खुलेको छ । अदालतको आदेशभन्दा माथि रहेर अख्तियारको दुरुपयोग गरि पोखराका मेयर आचार्यले आदेश गरेको भेटिएको हो ।