
मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सब इन्जिनियर हस्तबहादुर मल्ल लगायत १० जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूले नगरपालिकाको ७ र ८ नम्बर वडास्थित ताल्चा-सल्लेरी सडक स्तरोन्नति गर्दा लागतभन्दा २८ लाख ६२ हजार ४५९ रूपैया बढी खर्च भएको देखाएर सो बराबरको रकम नगरपालिकाबाट भुक्तानी गरिएको अख्तियारले जनाएको छ।
सुरूमा मानिसहरूबाटै सडकको अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मेडियम रक र हार्ड रक कटिङ गर्ने भनी लागत अनुमान गरिएकोमा अर्डिनरी स्वायलमात्र गराइएको फेला परेको छ। त्यो पनि मेसिनबाट गरेर मानिसहरू लगाएर गरिएको भनी कामको बढी मुल्यांकन गरेर नापी किताब, प्राबिधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयार पारेर २८ लाख ६२ हजार ४५९ बढी भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ।
त्यसरी बढी रकम मुल्यांकन गर्न सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्लविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सडक निर्माण अनुगमन समेत भ्रष्टाचारमा साथ दिएको आयोगले जनाएको छ।
अनुगमन समितिका सदस्यहरू चक्रबहादुर सावत, हजरकला कामी, ७ नम्बरका वडाध्यक्ष कर्ण रावल, ७ नम्बर वडाका वडासदस्य पशुपति शाहीविरूद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारू, इन्जिनियर कठायत, उपभोक्ता समितिका अध्यक्ष शाही र अन्य पदाधिकारीबाट भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीसहित भ्रष्टाचार गरे बराबर २८ लाख ६२ हजार ४५९ रूपैयाँ बिगो असुल उपर गर्नसमेत अख्तियारले माग गरेको छ।
नगरपालिकाका प्रमुख विष्णुकुमार भामका अनुसार उक्त सडकको स्तरोन्नति ०७५ सालमा गरिएको थियो। त्यतिबेला नेपाली कांग्रेसका हरिजंग शाही नगरप्रमुख थिए।
सडक स्तरोन्नतिका लागि ६०/७० लाख बिनियोजन भएकोमा सो बराबरको काम नभएको वर्तमान नगरप्रमुख भामले बताए।