दलाल वर्ग र हामीबीच भेद छुट्टिन गाह्रो भयो : प्रचण्ड

केन्द्रीय समिति बैठक

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र आफूहरुबीचका भेद छुट्याउन समेत गाह्रो भएको बताएका छन् ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको  केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘दलाल र नोकरशाही बर्ग र हाम्रो भेद छुट्टिन गाह्रो भयो,’ उलने भने, ‘हामी कतै–कतै बिग्रेका छौँ।’

प्रचण्डले पहिले आफैभित्रबाट रुपान्तरण भएर मात्र अरुलाइ सम्झाउन सकिने बताए। उनले सबै केन्द्रीय सदस्यहरुले आगामी फागुन १ भित्र स्रोतसहित सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने प्रस्ताव समेत गरेका छन्।

यथास्थितीमा पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरेका उनले पार्टी गुटबन्दीतिर जानु राम्रो नभएको समेत बताए। ‘यथास्थितीको गोलचक्करमा रुमलिएर पार्टी अगाडि बढ्न सक्दैन,’ प्रचण्डको भनाइ छ, ‘अराजकतातिर, गुटबन्दीतिर जाने कुरा राम्रो होइन।’

सरकारमा रहँदा सुशासनको पक्षमा सकरात्मक पहल गर्न खाजेको र अहिले आफूहरुका पक्षमा सकरात्मक वातावरण बनेको बताएका प्रचण्डले अब त्यसलाई संगठनको शक्तिमा बदल्नुपर्नेमा जोड दिएका छन्।