पर्यटन मन्त्री रवीन्द्र अधिकारीज्यू, नैतिकताको आधारमा राजिनामा दिनुपर्दैन ?

दियो पोस्ट  

काठमाडौं, २१ पुस । सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणालाई हराएर चर्चामा आएका शेरबहाहदुर तामाङ इमान्दार नेताको रुपमा परिचित छन् । तर, कानुन मन्त्री बनेको चार महिना ८ दिनमैं उनी मन्त्रीबाट बिदा भए । कारण ठूलो थिएन । आचरण विरुद्ध पदको दुरुपयोग गरेका थिएनन् । जनजातिको छोरो बोल्ने क्रममा जिब्रो चिप्लँदा मन्त्रीबाटै चिप्लिनुपरेको घटना अहिले मात्रै होइन पछिसम्म पनि नेपालको इतिहासमा सम्झिरहँने छ ।


गत ४ साउनमा एउटा विद्यालयमा भएको कार्यक्रममा तामाङले बंगलादेशमा एमबिबिएस पढ्न जाने चेलीहरुले सर्टिफिकेट पाउँन आफ्नो अस्मितालाई बेच्नुपरेको केही नमिठो अवस्था आफूले सुनेको भन्दै नेपालमैं सहज रुपले एमबिबिएस पढ्न पाउँने व्यवस्था गर्नुपर्ने पर्ने माग गरेका थिए । विदेशमा यस्तोसम्म हुन सक्ने आशय प्रकट गर्दा शेरबहादुरविरुद्ध पार्टी बाहिरबाट भन्दा भित्रैबाट राजीनामा दिन बाध्य पारियो । उनको आशयलाई गलत अर्थ लगाउँदै उनलाई राजीनामा लागि बाध्य पार्दा अर्को नेतालाई मन्त्रीको ढोका खुल्ने अवस्था थियो ।

इमान्दार नेताको छवि बनाएका तामाङले मन्त्री भएको चार महिना ८ दिनमा आँशु झार्दै मन्त्री पदबाट राजीनामा दिए । सिन्धुपाल्चोकमा चेलिबेटी बेचबिखनविरुद्ध तामाङले अभियान नै थालेर महिलाको पक्षमा काम गर्दै उदाहरण प्रस्तुत गरेका थिए । स्वस्थ छविका इमान्दार नेताले महिलाको विषयमा भावुक हुँदै व्याख्या गर्न खोज्दा उनी चिप्लिएको भन्दै राजीनामा नदिन पनि उनलाई जनस्तरबाट सुझाव आएको थियो । तर, राजनीतिमा नैतिकताको खडेरीबीच उनी अलग देखिए ।


‘प्रधानमन्त्री र सरकारलाई सफल बनाउन र निहित स्वास्र्थ बोकेकाहरुलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताका आधारमा सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा पेश गर्न गईरहेको छु ।’ उनले राजीनामामा भनेका थिए ।


तर, रविन्द्रलाई किन लागेन नैतिकता ?


जिब्रो चिप्लँदा राजीनामासम्म दिएर नैतिकताको पहाड खडा गरेको नजीरको समय ४ महिना हाराहारी हुँदा नहुँदै वाइडबडी भ्रष्टाचार काण्डमा नेकपाकै नेता रविन्द्र अधिकारीको नाम आयो । उनी भ्रष्टाचारी ठहर भएका होइनन् । तर, नेकपाकै बहुमत रहेको लेखा समितिको उपसमितिले दुईवटा वाइडबडी खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख को भ्रष्टाचारमा अधिकारीको पनि संलग्नता रहेको भन्दै थप छानविन गरी कारवाहीको माग गर्यो ।

अधिकारी मन्त्री भएपछि दुई किस्ता रकम गएको छ । महालेखाको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नहुँदानहुँदा अधिकारीले दुईपटक किस्ता रकम पठाउनुले यसमा अधिकारी पनि दोषी रहेको ठहर समितिले गरेको हो ।
तर, शेरबहादुरलाई लागेको नैतिकता लोकप्रिय युवा नेता अधिकारीलाई लागेन । वाइडबडीमा घोटालाको आशंका हुँदै जाँदा पनि किस्ता रकम पठाएकोमा मन्त्री अधिकारीमाथि कारवाहीको माग समितिले गरेको छ । उपससमितिले किस्ता रकमको लागि सटही गर्न आदेश दिने जीवनबहादुर शाही र अर्का पर्यटनमन्त्री जितेन्द्र देवलाई नैतिकता नदेखाएको आरोप छ ।


तर, प्रधानमन्त्रीदेखि सांसद नै रविन्द्रको बचाउमा


संसदीय उपसमितिले गरेको सिफारिसको प्रधानमन्त्री केपी ओलीले नै धज्जी उडाइदिए । उपसमिति नै सर्वेसर्वा होइन, यसलाई अख्तियारले हेर्ने, सरकारले हेर्ने बताएको भोलिपल्टै उनले अर्को एउटा छानविन समिति नै गठन गरे । नेकपाकै सांसदहरु रविन्द्रको बचाउमा लागेका छन् । विशाल भट्टराई, सूर्य पाठकसहितले रविन्द्रलाई होइन शाही र देवलाई कारवाहीको माग गरे । पहिले आफ्नै दलको बहुमत रहेको उपसमितिले रविन्द्रलाई हदैसम्मको कारवाहीको माग गर्ने र दुई दिन बित्न नपाउँदै उनीमाथि छानविनको लागि बाध्य पारिनुको सट्टा बचाउँने गरी अभिव्यक्ति दिनुले पक्कै पनि राम्रो संकेत गर्दैन ।


कम्तिमा निलम्बन वा राजीनामा ?


रविन्द्र अधिकारीमाथि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले लगाएको आरोप होईन । जनताद्वारा निर्वाचित सार्वभौम संसदको उपसमितिले लगाएको एउटा गम्भिर आरोप हो –भ्रष्टाचार ।
यस्तो गम्भिर आरोप लागेको भए सायद शेरबहादुर तामाङहरुले राजिनमा दिन्थे र नैतिकता देखाइदिन्थे । तर रवीन्द्र अधिकारीले आफ्नो सामान्य नैतिकता समेत देखाएनन् । उनले प्रतिवेदनको आरोप पुष्टि नभएसम्मका लागि राजिनामा दिन सक्थे ।

राजीनामा स्विकृत गर्ने वा नगर्ने प्रधानमन्त्रीको हातमा थियो नै । त्यसो त उपसमितिले चार्ज लगाउँदैमा अधिकारी भ्रष्टाचारी भएका होइनन् । वाइडबडी घोटालाको विषय आउँने वित्तिकै अधिकारीले मेरो संलग्नता भए राजनीतिबाटै सन्यास लिन्छु भनेका थिए । तर, यत्ति ठूलो आरोप आउँदा मन्त्रीबाट राजीनामा दिएर सामान्य नैतिकता देखाउने हैसियत राखेनन् । अहिले राजीनामा दिएर पछि उनी भ्रष्टाचारमा संलग्न नरहेको पुुष्टि भएको भए त उनको वाहवााही नै हुने थियो ।


पहिलो संविधानसभामा ठूलो दलका रुपमा उदाउँदै प्रधानमन्त्री बनेका प्रचण्डले सेनापति हटाउन खोज्दा राष्ट्रपति डा. रामवरण यादवले थपौती दिंदा पदबाटै राजीनामा दिएका थिए ।


यी हुन् नैतिकताको आधारमा राजीनमा दिने मन्त्री

– एनडिओलाई ट्वाइलेटमा थुनेको विषयमा सार्वजनिक आलोचन बढ्दै जाँदा मातृका यादवले २०६५ सालमा मन्त्रीबाट राजनीमा दिएका थिए ।
– रक्षामन्त्री हुँदा देश टुक्राउँने अभिव्यक्ति दिएका कारण आलोचित बनेको शरतसिंत भण्डारीले २०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा हुँदा राजीनामा दिएका थिए ।
– धान दिवसमा महिलाहरुमाथि अश्लिल हर्कत गर्दा कृषि मन्त्री हरिप्रसाद पराजुलीले सुशील कोइराला नेतृत्वको सरकारबाट राजीनामा दिनुपरेको थियो ।
– सुशील कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री रहेकै बेला पदीय मर्यादा कायम नगरेको आरोपमा भीम आचार्यले पनि मन्त्री पद गुमाएका थिए । राजनीतिक नियुक्तिदेखि कमिसनका लागि गलत आचरण देखाएको भन्दै आचार्यलाई फिर्ता बोलाइएको थियो ।
– आचार्यको ठाउँमा दीपकचन्द्र अमात्यलाई पर्यटनमन्त्री बनाइयो । तर, उनी पनि कमिसनकै चक्करमा फस्न पुगे । उनलाई पोखरा विमानस्थल निर्माणको चिनियाँ कम्पनीसँग कमिसन मागेकोदेखि अरु कमिसन लागेको भन्दै मन्त्रीबाट फिर्ता बोलाइएको थियो ।