काठमाडौं, पुस २६ । नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको कामलाई तीब्रता दिएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस दु्रतमार्ग निर्माणको जिम्मेवारी पाएको सेनाले कामलाई आगामी तीन बर्षभित्र नै सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ ।
तोकिएकै समयभित्र काम सम्पन्न गर्नको लागि १० स्थानमा क्याम्प खडा गरेर काम गरिरहेको छ । ७६.२ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकमा अहिले २३ वटा प्याकेजमा ठेक्का आह्वान गरेर निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६.२ किलो मिटर दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले अवसरको रुपमा लिएर धमाधम काम अगाडि बढाएको छ ।
फास्ट ट्रयाक निर्माणको काम अगाडि बढेपनि डिपिआर भने अझै बन्न सकेको छैन् । सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) कोरियन कम्पनी सुसुङ्गलाई तयार गर्न दिईएको छ । सेनाका अनुसार आगामी माघभित्र कम्पनीले डिपिआरको रिपोर्ट बुझाउने छ ।
फास्ट ट्रयाकलाई चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक बनाउने गरी काम अगाडि बढेको छ । आयोजनाको अनुसार पहाडमा २५ र तराईमा २७ मिटरको चौडाई हुनेछ । सडक ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, इपागढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ र निजगढको पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ । आयोजना निर्माणस्थलमा नेपाली सेनाका १ हजार २ सय सैन्य कर्मचारी खटिएका छन् ।
सेनाले नै दु्रतमार्गको ट्रयाक खोल्ने काम यस अघि नै सम्पन्न गरिसकेको छ । अबको झण्डै तीन बर्षभित्र सेनाले फास्ट ट्रयाक निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सुरु भएको फास्ट ट्रयाकको निर्माण लागत करिब १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
निजगढमा सात किमी क्षेत्रमा २७ मिटर फराकिलो द्रुत मार्ग निर्माण कार्यमा नेपाली सेना अहोरात्र खटिएको छ । सडक निर्माणमा दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र ट्रिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि भइरहेको छ । उक्त सडक खण्डमा जमिनबाट छ मिटर माटो फिलिङको काम जारी छ । उक्त सडक खण्ड अन्तर्गत ४८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ ।
सडक निर्माणका लागि मात्रै करिब १५ हजार मेट्रिटन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान आयोजनाले गरेको छ । फास्ट ट्रयाकको दायाँबायाँ ५० मिटरसम्म जग्गा अधिग्रहण गरिएको छ । उक्त सडक सञ्चालनमा आएपछि नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । सडक निर्माण सुरु भएपछि मुअब्जा सहित सडक निर्माणको लागि ८ अर्ब रुपैयाँ खर्च भएको छ । सडक निर्माणको क्रममा पर्ने २० हजार रुख काटने काम सकिएको छ भने थप एक हजार रुख कटान गर्ने तयारी सेनाले गरेको छ । नेपाली सेनाका अनुसार फास्ट ट्रयाक निर्माण अन्तर्गत अहिलेसम्म ९६ प्रतिशत मुअब्जा वितरण गर्ने काम सम्पन्न भइसकेको छ ।