काठमाडौं, १९ पुस । नागढुङ्गा सुरुङमार्ग आयोजना विरुद्ध चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का स्थानियबासीले विरोध गरेका छन् ।
आयोजनाको नाममा प्रभावित क्षेत्रका बासिन्दामाथि ज्यादती गरेको भन्दै स्थानियबासी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले आन्दोलनका लागि नागढुङ्गा सुरुङ्गमार्ग सरोकार समिति नै गठन गरेका छन् ।
आयोजनाका कारण स्थानियबासीले पुस्तौँदेखि पिउँदै आएको खानेपानीको मुहान सुक्ने हुनाले खानेपानीको वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । आयोजना क्षेत्र भित्रको जमिनको स्वामित्व सुनिश्चित गनुपर्ने, सुचनाको हक ज्ञारेन्टी गर्नुपर्ने, विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेर उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । आन्दोलनको नेतृत्व वडाध्यक्ष गोपी सुर्खेतीले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सुर्खेतीले आयोजनाले आफूहरुको माग पुरा गरे आयोजना सुचारु हुन दिने पुरा नगरे जनताले प्रतिरोध गर्ने बताए ।
‘हामीले पटक पटक यहाँका आयोजनाका मान्छेसँग छलफल गर्योँ तर हाम्रो मागलाई सुनेको नसुन्यै गरियो,’ वडाध्यक्ष सुर्खेतीले भने,‘अहिले हामी शान्तिपूर्ण सांकेतिक रुपमा आएर ज्ञापन पत्र दिँदै छौँ । यदि यहाँको माग संवोधन हुँदैन भने हामी जस्तोसुकै कदम चाल्न पनि यहाँको जनता सक्षम छन् ।’
उनीहरुले आफ्ना माग पुरा नभए आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।