काठमाडौं, २० पुस । पूर्व–पश्चिम राजमार्गस्थित बाराको पथलैया क्षेत्रमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जभित्र सडकमा जथाभावी सवारी चलाउँदा शुक्रबार एउटा पाटे बाघको निधन भयो ।
उक्त घटनामा समलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि उनी को हुन् भन्नेबारे भने गोप्य राखेको थियो । तर, उनी को हुन् भन्ने तथ्य खुलेको छ । सडकमै बाघको मृत्यु हुने गरी सवारीमा हुँइकिने व्यक्ति अरु कोही नभएर बसन्त चौधरी मालिक अध्यक्ष रहेको युनाइटेड फाइनान्स लिमिटेडका सिइओ अजय मिश्र रहेको खुलेको छ ।
उनी सवार गाडी सडकमा आवश्यकता भन्दा बढि स्पिडमा गाडी हुँईक्याएका कारण बाघको मृत्यु भएको पाइएको छ । प्रहरीले मिश्रलाई ५ दिनसम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।
घटना भएको दिन भने घटनास्थलबाट अजय मिश्रलाई पक्राउ गरिएको थियो ।
शुक्रबार जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको थियो ।