काठमाडौं, २२ नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान सभाका अध्यक्ष सुवाष नेम्वाङलाई लुकेर बसेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरोधमा रहेका थापाले नेम्वाङमाथि कसैले प्रश्न सोध्छकी भनेर लुकेर बसेको आरोप लगाएका हुन् ।
‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,’ थापाले भनेका छन्,‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर, श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन’’ भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ । अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ । संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन । मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।’