काठमाडौं, २३ पुस । प्रधानमन्त्री खड्क प्रसाद ओलीको मानसिक सन्तुलन गुमेको भन्दै राष्ट्रिय सभामा आवाज उठेको छ ।
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्रीमाथि यस्तो गम्भिर आरोप लगाएका हुन् ।
‘यो संविधान नेपालीमा लेखिएको छ । हाम्रो प्रधानमन्त्री खड्क प्रसाद ओली उर्फ केपी ओलीले नेपाली पढ्न जान्नुभएन भने अंग्रेजीमा पनि लेखिएको छ । गुगलबाट उहाँका सल्लाहाकारहरुले देखाए हुन्छ । म अध्यक्ष मार्फत प्रधानमन्त्री ओलीलाई यो संविधान बुझाउन चाहान्छु । यहाँ सरकार बन्ने अवस्था रहेसम्म मध्यवधी निर्वानको कल्पना गरिएको छैन,’ उनले भने,‘प्रधानमन्त्री हुनका लागि योग्यता चाहिन्छ । प्रतिनिधि सभाको सदस्य हुनुपर्छ । बहुमत सदस्यको समर्थन हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठीक भएको हुनुपर्छ । उहाँ आफै स्वयं प्रतिनिधी सभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यको समर्थन उहाँलाई देखिँदैन । अर्को मानसिक सन्तुलन गुमिसकेको मान्छेलाई प्रधानमन्त्री हुन पाउँदैन भनेर हाम्रो संविधानमा लेखएको छ । असंवैधानिक कार्य गर्ने मान्छे यो मुलुकको प्रधानमन्त्री हुन्छ की हुँदैन । मानसिक सन्तुलन गुमेको भन्न मिल्छ की मिल्दैन ।’
राष्ट्रपति भण्डारीलाई समेत उनले नेकपाको कार्यकर्ता हो की अध्यक्ष हो ? भन्दै प्रश्न गरे । ‘राष्ट्रपति नेकपाको कार्यकर्ता हो ? कि नेकपाको अध्यक्ष हो ? होइन सम्मानित संस्थालाई बद्नाम बनाउने कार्य यो सरकारले गरेको छ,’ उनले भने,‘महिला राष्ट्रपति भएको मुलुक हामीले सबैले गर्वगर्न लायक बनाएका थियौँ । राष्ट्रपतिलाई विवादमा पारेर महिलाहरु साँच्चै असक्षम हुन् काम गर्न भन्ने प्रश्न उठाइएको छ ।’