पूर्व प्रधानन्यायाधीश सुशिला कार्की भन्छिन्,– ‘चुनावको खुसीयाली मठाधीश र डन्डेहरुलाई मात्रै छ’

दियो पोस्ट  

काठमाडौं, २४ पुस । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि चुनाव भने नहुने ठोकुवा गरेकी छिन् ।


‘उनीहरुको राजनीतिक दल भित्रको ङर्याङ ङुरुङ झगडा विवादले गर्दा यत्रो अर्बौं अर्बको खर्च गरेर चुनाव गर्न पाइन्छ । मान्छेको धान रोप्नेबेला हुन्छकी मान्छेको कहाँ के गर्ने बेलामा भोट फर फलानो भनेर हिँडेर हुन्छ,’ प्रश्न गर्दै उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेकी छिन्,‘शान्त अवस्थामा पनि बाँच्न पाउनुपर्छ नी । चुनाव त म संभव देख्दिनँ । चुनावै भएपनि मारकाटको चुनाव हो । जनतालाई आश्वासन दिने तर, कुर्सीमा आएपछि आफुलाई जे मन लाग्यो त्यही गर्ने गरिएको छ ।’


प्रधानमन्त्री केपी ओली र नेकपा भित्रको झगडालाई संविधानले कुनै व्याख्या नगरेको उनले बताइन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन नपाउने भन्दै उनले ओलीको कदम असंवैधानिक भएको बताइन् ।


पछिल्लो राजनीतिक कदमबाट केही व्यक्ति खुसी समेतभएको उनले बताइन् ।

‘केही मान्छेहरु खुसी पनि छन् । फेरी चुनाव गर्नपाए पैसा सैसा खर्च गरेर फेरी प्रधानमन्त्री बन्न पाइन्छ भनेर त्यस्तो पनि छन् । यही रोगलाई रोक्न यो संविधान आएको हो,’ उनले भनिन्,‘यदि यो देशको अर्थतन्त्र इङ्गल्याण्ड, र ब्रिटेन अथवा अरु जति पनि संभ्रान्त मुलुकको जस्तो भएको भए चुनावमा जाँदा सहमत हुने थियौँ । त्यस्तो अवस्थामा जति निर्वाचन गराए हुन्छ । तर नेपालको अवस्था हेरौँ त खर्च कहाँबाट आउँछ । हाम्रै खर्च होइन । मान्छे खान पाउँदैन लाउँन पाउँदैन । गरिबी छ । कोरोनाको परिक्षण भएको छैन । कोरोनाले पीडित भएर कति कुनामा मान्छे मरिरहेका छन् । रोजगारीका निम्ती विदेशीनुपर्छ । यो निर्वाचनको खुशियाली कसलाई हुन्छ थाहा छ ? तीनै डन्डे जो पार्टीका हुलदडङहरु जो छन् । ती मठाधिशहरु जसले यति एरिया मेरो भो हजुर म यसको भोट एक छप्पा लगाइदिन्छु मलाई पैसा चाहियो भन्नेहरुलाई छ ।’


नेपालको अवस्था भने दयनिय भएको अवस्थामा चुनाव हुने खर्चको स्रोतमाथि प्रश्न उठाइन् ।

हेर्नुहोस् अन्तर्वार्ता