काठमाडौं, २५ पुस । दूरसञ्चार सेवा प्रदायक कम्पनि एनसेलको पोखरामा रहेको डाटा सेन्टरले नेपाल विद्युत प्राधिकरणको पोखरास्थित लेखनाथ वितरण केन्द्रलाई पौने १४ करोड रुपैयाँ भुक्तानी गर्न अस्विकार गर्दै आएको छ । प्राधिकरणलाई रकम भुक्तानी गर्न नमानेपछि लेखनाथ वितरण केन्द्रले एनसेलको डाटा सेन्टरको लाइन काटिदिएको छ । लाइन काटिएपछि रकम भुक्तानी गर्नुको सट्टा एनसेलले आफूले विज्ञापनको नाममा लाखौँ रकम खन्याएको मिडिया मार्फत दुष्प्रचारमा उत्रिन थालेको छ ।
उसले प्राधिकरणको पोखरास्थित गण्डकी प्रदेश कार्यालय र लेखनाथ वितरण केन्द्रको बद्नाम गर्ने उद्देश्यले विभिन्न मिडियामा हुँदै नभएको समाचार समेत लेखाउन थालेको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, कास्कीको विद्युत महशुलवापत १३ करोड ८० लाख ७० हजार ७ सय ४५ रुपैयाँ नतिरेपछि प्राधिकरणले गत आइतबार बिहान १० बजेर ४६ मिनेट जाँदा लाइन काटिदिएको थियो । लाइन काटिएपछि भुक्तानीको गर्नुको सट्टा एनसेल भने शक्तिको दुरुपयोग गर्दै जिल्ला अदालत कास्कीमा मुद्दा हाल्न पुगेको छ ।
प्राधिकरणको लेखनाथ वितरण केन्द्रका तर्फबाट प्रमुख परितोष कुमार चौधरीले एनसेललाई भुक्तानी गर्न नआएको भन्दै लाइट काटिएको पत्र पठाएका थिए । एनसेलका तर्फबाट भुवनेश्वर महतोले बुझेका थिए ।
एनसेलले विद्युत महशुल तिर्न अस्विकार गर्दै जिल्ला अदालत कास्र्कीमा मुद्दा दायर गरेको थियो । महशुल छुटको माग गर्दै जिल्ला अदालतमा अन्तरकालिन आदेश माग गरेपनि अदालतले अन्तरकालिन आदेश नदिएपछि वितरण केन्द्रले भुक्तानीका लागि पत्र काटेको हो ।
पुस १४ गते जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलाशले अन्तरकालिन आदेश जारी गर्नुनपर्ने आदेश दिएका थिए । एनसेलबाट सरकारले कर उठाउनका लागि समेत अड्डा अदालत धाउनुपर्ने भएको छ ।
एकातिर पोखरामा डाटा सेन्टरको विजुलीको पैसा नतिरेपछि लाखौं ग्राहक प्रभावित भएका छन् ।