नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्किए

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किएका छन् । दाहाल छोरी रेणुका साथ शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्किएका हुन् ।
उनलाई विमानस्थलमा स्वागत गर्नका लागि पूर्व उर्जामन्त्री तथा नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन अनन्त, उनका स्वकिय सचिव जोखबहादुर मोहरा विमास्थल पुगेका थिए ।

दाहाल गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए ।

सीता विगत लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । उनको हाल मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार चलिरहेको छ । छोरी गंगा दाहालका अनुसार बिहीबार सीताको स्टेम ट्रान्सप्लान्ट गरिएको थियो । र, उनको स्वास्थ्य सुधारोन्मुख रहेको कान्तिपुरलाई बताइन् । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, तर जटिल रोग भएकाले पूरै ठिक हुन त समय लाग्ला,’ उनले भनिन् ।

पारिवारिक भ्रमण भएकाले दिल्लीस्थित नेपाली दूतावासलाई समेत दाहालको भारत आगमनका बारेमा औपचारिक रुपमा जानकारी गराइएको थिएन ।

सम्बन्धित खबर