काठमाडौं, २७ पुस । सरकारी संस्थानको नियुक्ति पाएपछि संस्थान नै खोक्रो बनाउनेहरुको अहिले जहाँतहि बोलवाला बढेको छ । राजनीतिक नियुक्तिमा कार्यकारी अध्यक्ष बनेका गोरखापत्र संस्थानका कृष्णमुरारी भण्डारीमाथि करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । त्यसैबीच गोरखापत्र भित्र भण्डारीमाथि किर्ते गरेको आरोप लागेको छ ।
कार्यकारी अध्यक्ष भण्डारीले संस्थानकै बोर्ड सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव अनुप नेपाललाई समेत गुमराहमा राखेर आफु अनुकूल निर्णय गराएको भन्दै छानविन गरिएको छ । निर्णय नै नगरी कार्यकारी अध्यक्ष भण्डारीले सञ्चालक समितिको निर्णय भन्दै आफैले तयार पारेर केरमेट समेत गरी निर्णय गरेको देखाएका थिए । यसै कारण कार्यकारी अध्यक्ष भण्डारी माथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संस्थान महाशाखा प्रमुख राम प्रसाद सापकोटाको नेतृत्वमा छानविन गरिएको छ । गोरखापत्र संस्थानका अध्यक्ष भण्डारीले २०७७ साउन १४ गते बिहान बसेको बैठकमा उनले प्रस्तुत गरेको प्रस्तावहरु केबल सुन्ने मात्रै काम गरिएको उपसचिव नेपालले उजुरीपत्रमा जनाएका छन् ।
ति निर्णयहरुमा छलफल हुँदा सञ्चालक समितिबाट निर्णय गर्न आवश्यक नरहेको भनि बैठक समापन गरिएको भएपनि पछि सञ्चालक समितिको सचिवको नाउँबाट पास गरिएको भन्दै १२ वटा निर्णयहरु पठाइएको थियो । यसरी कार्यकारी अध्यक्ष भण्डारीले किर्ते गरी केरमेट गर्दै तयार गरिएको निर्णयहरुमा सहमति नभएको र फौजदारी कसुरको कार्य गरिएको भन्दै सञ्चालक समितिका सदस्य नेपालले कारबाहीका लागि मन्त्रालयमा सचिव समक्ष उजुरी गरेका छन् ।
संस्थानका कार्यकारी अध्यक्ष भण्डारीले गरेका बिभिन्न धन्दाका पर्दाफास गरे बापत आधिकारिक ट्रेड युनियनका अध्यक्ष विष्णु खनाललाई जागिरबाटै जवर्जस्त अवकास दिएको जानकारी गोरखापत्रमै प्रकाशन गरिएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा भन्दै २०७७ मंसिर २६ गते खनाललाई अवकास दिइएको बताइएको छ ।
कानूनी सल्लाहकार कुमार भट्टराई संयोजक रहेको पाँच सदस्यिय छानविन समितिको प्रतिवेदनका आधारमा आधिकारिक टे«ड युनियनका अध्यक्ष खनाल कारबाहीमा परेका हुन् । तथापि अहिले जागिर थमौतिका लागि खनाल पनि प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, रातोपाटी अनलाइनका संस्थापक ओम शर्मा र विघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेत जागिर जोगाउन भन्दै कहाँ हार गुहारका लागि पुगेको बताइन्छ ।
त्यसो त कार्यकारी अध्यक्ष भण्डारीले प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएर अर्का कर्मचारी अर्जुन बस्नेतलाई पनि दुई ग्रेड घटुवा गरेर राणाकालिन झल्को दिएका छन् । यसरी अध्यक्ष भण्डारीले संस्थानका नामबाट ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट अन्त कहिँ पाईदैन नेपालमै हो छुट’ भन्ने पशुपति शर्माको गीतलाई झल्को दिएका छन् ।
कार्यकारी अध्यक्ष भण्डारीले ५४ वटा सीसी क्यामेरा राख्नका लागि बढि नाफा रहँने गरी स्वीकृत गरिएको छ । उक्त काम उनले भान्जालाई कोटेशन मार्फत दिलाएका छन् ।
त्यसै गरी सवारी साधन मर्मतका लागि बढि दरमा नक्कली बिल बनाउने, कागज खरिद गर्दा २६ लाख भन्सार रकम अनियमितता गरेको, काभ्रेको बन्थली रिसोर्टमा एक रातको रक्सी समेतको भोजमा ६ लाख खर्च गरिएको, २०७६ साल पुस ४ र ५ मा खरिद ऐन नामक तालिमका नाममा बुढानीलकण्ठ पार्क भिलेजमा रक्सी र मासु समेतको फजुल खर्च गरिएको, आर्थिक वर्ष २०७५/०७६ मा ब्राण्डेड कम्प्युटर किन्ने नाममा बिना कोटेशन र टेण्डरमा ३२ लाखमा २५ थान खरिद गरि अनियमितता गरिएको, आर्थिक वर्ष ०७६/०७७ को लकडाउनका समयमा ल्याइएको ४२ थान ब्राण्डेड कम्प्युटरहरु कमसल भएका कारण कामै नलाग्ने गरी बिग्रिइसकेको, गोरखापत्रका अखबारहरु डिजिटल अर्काइभिङ गर्ने क्रममा फजुल खर्च गरी अनियमितता गरेको, अध्यक्षका सचिवालयका अर्जुन तामाङको श्रीमती जमुना तामाङलाई कनिष्ठ बुक बाइण्डिङमा र आफ्नै बुहारी गीता सापकोटालाई हेल्पर पदमा दरबन्दी नराखी तलब दिई जागिर दिलाएको, २०७६ साल चैत्र २ गतेको आइतवार बाँकेको कोहलपुरबाट प्रकाशन हुने अंकमा बदनाम गराउने उद्देश्यले पृष्ठ ४ र १३ मा नयाँ पत्रिकाको सामाग्री छापिएको जस्ता दर्जनौ अनियमितताका दर्जनौं श्रृंखला जारी राखेका छन् ।