‘रअ’कै योजनामा नेपाल आएका थिए जी–न्युजका चौधरी : एलफ्ट होटलको त्यो गोप्य जमघट !

दियो पोस्ट  

काठमाडौं, १ माघ । ६ महिनाअघि भारतीय टेलिभिजन च्यानल जी–न्युजले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई ‘विषकन्या’को संज्ञा दिएर नेपालका प्रधानमन्त्री केपी ओलीलाई ‘ओलीकी इश्कियाँ’ भन्दै बद्नाम गर्यो । यो घटनापछि देशभरका नेपालीले भारतीय सञ्चार माध्यमको चर्को आलोचना गरे ।

केवल सञ्चालकहरुले जी–न्युज लगायत भारतीय टेलिभिजन च्यानल नेपालमा प्रतिबन्ध समेत लगाए । तर, तीनै विवादित र अक्षम्य अपराध गर्ने भारतीय टेलिभिजन जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीलाई प्रधानमन्त्री केपी ओलीले केहीदिन अघि बालुवाटारमै बोलाएर लामो अन्तर्वार्ता दिए ।


भारतमा एकसे एक विश्वसनीय भारतीय टेलिभिजन च्यानल हुँदा हुुुँदै नेपालमा आएर रातारात प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन सफल भएका विवादास्पद टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक चौधरीका कारण ओली रातारात राष्ट्रवादी समेत बने । तर, उनको राष्ट्रवाद दुई दिनको ‘घामछायाँ’ र नाटकको रुपमा परिणत भयो । जब चौधरीले प्रधानमन्त्री ओलीलाई भेटेको केहीबेरमै सगरमाथाको आधारशिविरमा पुगेर सगरमाथामाथि भारतले पनि आफ्नो दाबी गर्नुपर्ने विवादास्पद अभियान थाले ।


चौधरीलाई सगरमाथा पुर्याउने विवादास्पद नेपाली व्यापारी भने अरु कोही नभएर आफूलाई प्रतिष्ठित मिडिया उद्यमी समेत बताउने क्याप्टेन रामेश्वर थापा हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जसँग कुनै अनुमति समेत नलिई थापाकै सेटिङमा चौधरीलाई सगरमाथाको आधारशिविर पुर्याइएको थियो । उनको स्वामित्व रहेको सिम्रिक हेलिकोप्टर वन्यजन्तु तस्करीदेखि पदयात्री पर्यटकमाथि हुने फेक रेस्क्युको धन्दामा समेत समलग्न छ ।


प्रधानमन्त्री ओलीलाई राष्ट्रवादी देखाउन भारतीय टेलिभिजनलाई नेपालमा ल्याएर नाटकीय अन्तर्वार्ता देखाउनेदेखि विवादास्पद टेलिभिजनलाई विना अनुमति सगरमाथामा गुमाउने थापाले नै तीन महिनाअघि भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई नेपाल ल्याएको दाबी छ ।

थापा स्वयंले आफूले नै रअ प्रमुखलाई प्रधानमन्त्री ओलीसँग भेट गराएको बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले गोयलसँग बालुवाटारमै परराष्ट्रका प्रतिनिधि बिनै ३ घण्टा गोप्य भेट गरेको सार्वजनिक भएपछि ओलीको राष्ट्रवाद नाङ्गीएको विश्लेषण हुने गरेको छ । नेकपा भित्रै प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गरेको भेटको चौतर्फी विरोध भएको थियो ।


त्यतिबेला थापाले नै रअ प्रमुख गोयललाई सिम्रिक एयरको हेलिकोप्टर मार्फत ‘माउन्टेन फ्लायट गराएका थिए । उक्त समयमा समेत गोललाई गुल्ममा राखिएको थियो । तर सगरमाथा राष्ट्रिय निकुञ्जबाट कुनै अनुमति नै नलिई छिमेकी मुलुकको गुप्तचर प्रमुखलाई सगरमाथा क्षेत्रमा पुर्याइएपनि प्रधानमन्त्री ओली नेतृत्वको सरकार मौन बस्यो ।


१० मंसिरमा प्रकाशित जनआस्था साप्ताहिकका अनुसार रअ प्रमुख गोयललाई लिन क्याप्टेन थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेका थिए ।


‘कात्तिक ५ गते दिउँसो १ बजे काठमाडौं ओर्लेका सामन्तलाई आफ्नै गाडीमा राखेर उनले बौद्धस्थित हायात होटल पु¥याएका थिए । होटल पुगेर त्यो दिनको लञ्च गोयलसँगै थापाले पनि त्यहि होटलमा खाएका हुन्,’ प्रकाशित समाचारमा भनिएको थियो,‘दिनभरि त्यहिँ आराम गरेर सामन्तले अनौपचारिक भेटघाट थालेको बताइन्छ । हायातमै साँझको डिनर खाएर राती नौ बजेको हाराहारीमा थापाले नै टिमलाई बालुवाटार छिराएका थिए ।

उच्चस्तरीय उक्त भेटमा गोयलसँगै आएका ‘र’ का पूर्व काठमाडौं प्रमुख अरुण जैन र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि थिए । मध्यराति बालुवाटारबाट निस्केका गोयललाई उनैले पुनः हायात होटलमा छाडेको बुझिएको छ ।’


त्यति मात्रै होइन रअ प्रमुख नेपाल आउनुअघि नै थापा भारतको नयाँ दिल्ली पुगेका थिए । उनी प्रधानमन्त्री ओलीको विशेष दुत बनेर थापा काठमाडौंबाट आन्तरिक हवाई उडानमार्फत् भद्रपुर हुँदै स्थलमार्गबाट बागडोगरा पुगी हवाई उडानमा नयाँ दिल्ली उत्रेका’ समाचारमा दाबी थियो ।

क्याप्टेन रामेश्वर थापा


‘रअ प्रमुखसँगको भेटपछि उदाङ्गीएको प्रधानमन्त्रीको राष्ट्रवाद कसरी फर्काउने भनेर थापा लगायतको समुह नै क्रियाशिल भएको थियो,’ यी घटनाक्रमसँग निकै नजीक रहेका विश्वस्त स्रोतले भन्यो,‘प्रधानमन्त्रीलाई राष्ट्रवादी बनाउने योजना पनि रअ कै हो ।’


स्रोतका अनुसार प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने जी न्युजका प्रधानसम्पादक सुधीर चौधरी नेपाल आउनुअघि नै थापा सहित रअका अधिकारीहरुको राजधानीको एक होटलमा निकै ठूलो जमघट भएको थियो ।

ठमेलस्थित छायाँ सेन्टरकोमाथि रहेको होटल एलफ्टमा प्रधानमन्त्रीको पक्षमा बौद्धिक कसरत गर्दै आएका व्यक्तिहरु र रअका विशेष प्रतिनिधिको जमघट भएको थियो । गत पुष १८ गते शनिबार भएको उक्त भेटघाटमा फ्रान्समा रहेर भारतीय दूतावासमा कार्यरत अभिषेक उपाध्याय पुगेका थिए ।

नयाँ वर्षकै दिन पारेर काठमाडौं आएका उनीसहितको बैठक दिउँसो १२ बजे नै चलेको थियो ।
उक्त कार्यक्रममा ती दुई भारतीयका अलवा नर्वे,इटाली,वेलायत,फ्रान्स,भारत लगायतका देशका नेपालमा रहेका गुप्तचार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालबाट चाही गुप्तचर विभागका पूर्वप्रमुख देवीराम शर्मा, एपीवानका मालिक रामेश्वर थापा, पत्रकार देव प्रकाश त्रिपाठी लगायत सहभागी रहेको स्रोतको दाबी छ । उनीहरुले नै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बताएका थिए । सामान्य विषयमा सामाजिक सञ्जालमा तर्क वितर्क लेखिरहने त्रिपाठी नेपालको सगरमाथामाथि भारतीय टेलिभिजनले भारतको दाबी हुुनुपर्छ भनेर अभियान चलाउँदा चुपचाप छन् ।


यो भेटघाट पछि नै पत्रकार चौधरीलाई नेपाल ल्याउने र नेपालमा ल्याउँदा उनको व्यवस्थापन गर्ने जीम्मा क्याप्टेन रामेश्वर थापाले लिने अनौपचारिक निर्णय भएको स्रोतले बतायो । थापाको स्वामित्व रहेको सिम्रिक हेलिकोप्टर मार्फत चौधरीले गैरकानुनी रुपमा सगरमाथाको छायांकन गरेपछि स्रोतको यो सुचना पुष्टि भएको छ ।

‘यो थापा सर (क्याप्टेन रामेश्वर थापा)को विमानबाट भएको छ । सबै कुरा थापा सरले नै मिलाउनु भएको हो,’ विमानस्थल स्रोतलाई उदृत गर्दै पहिलोपोस्टले लेखेको छ,‘यहाँबाट सगरमाथा आधार शिवर गएको देखिँदैन । लुक्ला हुँदै गएको हुनसक्छ ।’


तर, सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति बिनै सगरमाथा क्षेत्रको छायांकन गरेको भन्दै थापाको स्वामित्व रहेको सिम्रिक एयरलाई कारबाही गर्ने तयारी गरेको छ । यद्धपी प्रधानमन्त्री निकट रहेर विभिन्न धन्दामा समलग्न रहेका थापामाथि कारबाही हुन्छ भन्ने विश्वास भने आम जनमानसमा छैन ।

TATA ADD