काठमाडौं, ३ माघ । ३ दिने भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार नेपाल फर्किएका छन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए ।
आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनले विमानस्थलमै बताए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालको सिमा समस्या समाधानको कुरा उठाउँछु भन्दै प्रचारबाजी गरेका मन्त्री ज्ञवालीलाई मोदीले भने भेट समेत दिएनन् ।
तर, हाम्रा प्रधानमन्त्री खड्क प्रसाद ओलीले भने ‘आफ्नै बद्नाम’ गर्ने विवादास्पद टेलिभिजन च्यानल जी–न्युजलाई बालुवाटारमा सानदार स्वागत गरे ।
जी न्युजका प्रधानसम्पादक बताउने सुधीर चौधरीलाई प्रधानमन्त्री ओलीले भारतीय समकक्षीकै हैसियतमा कुराकानी गरेका थिए । प्रश्नकर्ता चौधरी पनि सञ्चारकर्मी नभई भारतीय प्रतिनिधिको हैसियतमा प्रधानमन्त्री ओलीसँग वार्तामा देखिए जसरी प्रस्तुत भएका थिए । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता सार्वजनिक हुनुअघि उनले आफू तर्फ भारतको झण्डा र ओली तर्फ नेपालको झण्डा प्रयोग गरेका थिए । यस्तो लाग्थ्योकी उनी नेपाली समकक्षीसँग वार्ता गर्दै थिए ।
प्रधानमन्त्री ओलीकै निकट रहेका व्यापारी रामेश्वर थापाले चौधरीलाई नेपालको सगरमाथा घुमाएको थियो । सिम्रिक एयरको दुई वटा हेलिकोप्टर मार्फत सगरमाथा पुगेका उनले सगरमाथा राष्ट्रिय निकुञ्जबाट छायाँकनको अनुमति समेत नलिएको खुलेको थियो । उनले सगरमाथाकै आधारशिविरमा पुगेर सगरमाथामाथि भारत सरकारले पनि दाबी गर्नुपर्ने र सगरमाथाको नाम फेर्नुपर्ने अभियान चलाइरहेका छन् ।
भारतको एउटा विवादित टेलिभिजन पत्रकारलाई प्रधानमन्त्री ओलीले अनावश्यक ‘स्पेस’ दिएपनि उनको दूतको रुपमा भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने भारतले अपमान गरेको छ । फलस्वरुप उनले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न समेत पाएनन् ।
तर, मंसिर दोस्रो हप्ता नेपाल आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले समकक्षी भरतराज पौड्याल मात्रै होइन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई समेत भेटेर गए । उनले प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र मधेश केन्द्रित दललाई समेत भेटेर गएका थिए ।