तीन करोड रुपैयाँभन्दा बढीको चेक बाउन्स मुद्दामा फरार रहेका अभियुक्त सिआइबीको फन्दामा !

तीन करोड रुपैयाँभन्दा बढीको चेक बाउन्स मुद्दामा फरार रहेका अभियुक्त सिआइबीको फन्दामा !

काठमाडौं, ४ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक बाउन्स मुद्दामा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गरेको छ ।


उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका तीन जना अभियुक्तलाई सिआइबीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । सिआइबीले करोडौंको चेक बाउन्स मुद्दामा तीन अभियुक्तलाई पक्राउ गरेको हो ।


प्रमोद ढुङ्गेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीले बैंकिङ् कसूरमा उच्च अदालत पाटनले कैद र सजाय फैसला गरेका जिल्ला चितवन साविक शिवनगर गा.बि.स. वडा नं. ८, हाल भरतपुर म.न.पा. वडा नं. १४ हनुमाननगर घर भई जिल्ला काठमाडौं का.म.न.पा. २६ स्थित रानीबारी अटो प्रा.लि.का संचालक ५१ वर्षिय रामबहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई २१ दिन कैद र २ करोड १६लाख २४ हजार एक सय जरिवाना तोकेको थियो । उनीमाथि तीन मुद्दा थिए । अर्को एक मुद्दामा भने ६ लाख ५० हजार जरिवाना र १६ दिन कैद तोकिएको थियो ।

त्यस्तै अर्को मुद्दामा ९ लाख ५० हजार जरिवाना तोकिएको थियो । उनीमाथि कुल २ करोड ३२ लाख २४ हजार १ सय जरिवाना र ५५ दिन कैद फैसला भएको थियो । तर, सजाय र जरिवाना नतिरी फरार रहेका उनलाई सिआइबीले चितवनको खैरेनीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत चितवनमा बुझाइएको छ । त्यस्तै वुना महत र गितादेवी अधिकारीको जाहेरीले बैंकिङ् कसूरका दुई मुद्दामा फरार रहेका काठमाडौं साविक बाडभञ्ज्याङ्ग गा.बि.स. वडा नं. ४, हालको चन्द्रागिरी न.पा. वडा नं. २, चिसापानी बस्ने बर्ष ३१ का सुवास थापा पनि पक्राउ परेका छन् ।


उनलाई पनि उच्च अदालत पाटनले १६ दिन कैद र ५९ लाख ७९ हजार जरिवाना गर्ने फैसलागरेको थियो । तर, उनी फरार भएपछि सिआइबीले चितवनबाट पक्राउ गरेको हो । उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ ।


त्यस्तै सिआइबीले मिना कुमारी अम्गाईको जाहेरीले बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटन फैसलाबाट सजाय तोकिएका विष्णु अम्गाईलाई पक्राउ गरेको छ ।


गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ घर भएका अम्गाईलाई एक महिना कैद र १०लाख जरिवाना तिराउने फैसला भएको थियो । उनलाई पनि चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।

Trending News