धादिङमा वडाध्यक्षको बलमा लुकाइएको डरलाग्दो घटना : मर्‍यो भनेर रक्तमुछेल छाडिएका थिए चन्द्र !

धादिङमा वडाध्यक्षको बलमा लुकाइएको डरलाग्दो घटना : मर्‍यो भनेर रक्तमुछेल छाडिएका थिए चन्द्र !

दियोपोस्ट संवाददाता

धादिङ, ७ माघ । घटना गत कार्तिक ७ गतेको हो । धादिङको निलकण्ठ नगरपालिका–०८ घर भएका चन्द्रबहादुर ढुङ्गानाको परिवार घरमा खाना खाने तयारीमा थिए । अन्दाजी ८ बजे वडाध्यक्ष गुणबहादुर थपलियाको छोरा रामशरण थपलिया सहितको ६–७ जनाको समुह घरमा आए ।


खाना खाएर बाहिर निस्किएका ढुङ्गानामाथि थपलियाको समुहले आक्रमण शुरु गर्यो । ढुङ्गानाको टाउकोमा ढुङ्गाले प्रहार भएपछि उनी भित्र प्रवेश गर्न खोजे तर, आक्रमणकारी समुहले उनीमाथि बोतल प्रहार गरे । ‘बोतलले रगत आयोकी भनेर टाउको मुसार्दै थिएँ । श्रीमती खाना खाँदै थिइन् । भित्र ढोका लगाउन खोज्दा खोज्दै अन्धाधुन्ध प्रहार भयो । म ढलेँ,’ ढुंगानाले दियोपोस्टलाई घटना विवरण सुनाए,‘म ढलेको उठाउन आएकी मेरी श्रीमती पुनामायाँ ढुङ्गानामाथि पनि अन्धाधुन्ध आक्रमण भएछ । श्रीमती ढलेपछि उठाउन आएको १५ वर्षिय छोरा निर्मल ढुङ्गानामाथि पनि बियरको बोतल प्रहार भएछ । उसको हात नै तीन ठाउँमा काटिएछ । मेरी ७० वर्षिय आमालाई पनि मार्ने उद्देश्यले आक्रमण भएछ । म बहोस थिएँ ।’


रक्तमुछेल भएर घरमा लडेका उनको दम्पत्तिलाई प्रहरी भ्यानमा हालेर तत्काल जिल्ला सदरमुकाम धादिङवेशी लगियो । तर, त्यहाँ उपचार संभव नभएपछि उनको दम्पत्तिलाई रातारात राष्ट्रिय ट्रमा सेन्टरमा लगियो । घटना भएको २४ घण्टापछि होसमा आएका ढुंगाना त्यतिबेला आइसियुमा थिए ।


उनको आमा र १५ वर्षिय छोरालाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।


‘मेरो अनुहारमा अहिले पनि सिसाको टुक्रा विझीरहेको छ,’ चन्द्रकी ७० वर्षिय आमाले दियोपोस्टसँग भनिन्,‘मैले त मेरो छोरो मर्यो भनेर छाडेको थिएँ । रगतले घर भित्रै आहाल जमेको थियो । म जन्मेर अहिले ५ वर्ष भत्ता खाएँ । तर यस्तो घटना भोगेको त देखेको पनि थिइनँ । अहिले आएर गाउँ जान नसक्ने भएकी छु ।’


घटनालगत्तै ढुङ्गाना परिवारले जिल्ला प्रहरी कार्यालयमा ज्यानमार्ने उद्योगको जाहेरी दिए । तर, प्रहरीले ३ महिनासम्म जाहेरी दर्ता गर्न अस्विकार गरेपछि उनले काठमाडौं आए हुलाक मार्फत जाहेरी दिए । हुलाक मार्फत दिएको जाहेरी भने प्रहरीले दर्ता गरिदियो ।

‘काठमाडौं जाहेरी दिनेलाई पनि काट्छु भन्दै हिँडेका छन् । हामी अहिले गाउँ जान सक्ने परिस्थितिमा छैनौँ,’ काठमाडौंमै रहेका ढुङ्गानाले दियोपोस्टसँग भने,‘ठूलाबडाहरुले नै संरक्षण गरेका थिए । वडाध्यक्ष गण बहादुरले पुजामा फरार रहेको छोराको समुहलाई नै गोप्य रुपमा खाना खुवाएर पठाएका रहेछन् ।’

तर, प्रहरीले घटनामा समलग्न रहेका अभियुक्तहरुलाई केही दिनअघि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष गुण बहादुर थपलियाका छोरा केशव भनिने रामशरण थपलिया, काले भनिने राजकुमार अधिकारी, भूवन सिवाकोटी, सुरेन्द्र सिवाकोटी, सोम बहादुर न्यौपाने, दल बहादुर सिवाकोटी छन् । घटनामा समलग्न रहेका सुमन सिवाकोटी भने फरार छन् ।


वडाध्यक्ष थपलियाले ३ महिनापछि आफ्नो छोरोलाई पनि फसाउने नियतले जाहेरी दिएको र जाहेरीको आधारमा पक्राउ गरिएको आरोप लगाए ।

धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार प्रहरीले अभियोजन पत्र सरकारी वकिल समक्ष बुझाइसकेको छ । यहि समयमा वडाध्यक्ष थपलिया भने धरौटीमा छुटाउन सक्रिय रहेका छन् । उनले पीडित चन्द्र बहादुरको परिवारलाई क्षतिपूर्ति दिएर भएपनि आफ्ना छोरा सहितको आपराधिक समुहलाई छुटाउन दबाव दिएका छन् ।

Trending News