काठमाडौं, १० माघ । निजि विद्यालयको आवरणमा जग्गा दलाली धन्दा गर्ने र ठगि गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पौने ३ करोड रुपैयाँ ठगीको अभियोगमा राजधानीको कोटेश्वरमा रहेको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरु शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अन्य चार सञ्चालक भने फरार छन् । उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर, जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटालाई ठगी गरेका थिए । पीडित देवकोटाले उनीहरु विरुद्ध उजुरी गरेका थिए ।
पक्राउ परेका खड्का भने न्याय परिषदका सदस्य लक्ष्मी बहादुर निराला खड्काका छोरा हुन् । उनले शक्तिकै आडमा दादागिरी देखाउँदै आएका थिए ।
बैना फिर्ता नगरेको र तोकिएको मितिभित्र जग्गा पास नगरेको भन्दै देवकोटाले एक बर्ष अगाडी नै जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ गरेको थिएन । उनीहरुले फरार रहेकै अबस्थामा गत कार्तिक २७ गते जग्गा अर्कैलाई बेचेका थिए ।
प्रहरीका अनुसार ओलम्पिया स्कुलका सञ्चालकहरुले स्कुलको जग्गा विक्री गर्ने क्रममा शिशा मन्त्रालयको स्विकृती समेत नलिएको पाइएको छ ।