नयाँ पत्रिकाकै ‘साहु’ देवकोटा जग्गा किन्दा ठगिए : पक्राउ परेको केही घण्टामै अभियुक्त रिहा !

दियो पोस्ट  

काठमाडौं, ११ माघ । महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार जग्गा बैना बापतको २ करोड ७५ लाख ठगी गरेको भन्दै २ जनालाई पक्राउ गर्यो ।

पक्राउ पर्नेमा शिरिष खड्का र सुरेन्द्र महर्जन थिए । उनीहरु मध्ये खड्का भने न्याय परिषदका सदस्य लक्ष्मी प्रसाद निराला खड्काका छोरा थिए । तर, खड्कालाई पक्राउ गरेको केही बेरमै काठमाडौं प्रहरीका प्रमुख एसपी अशोक सिंहलाई बालुवाटार (प्रधानमन्त्री निवास) बाट फोन आयो । बालुवाटारबाट तुरुन्त बोलाएपछि उनी एकाएक बालुवाटार पुगे । उनी पुग्दा त्यहाँ न्याय परिषदका सदस्य लक्ष्मी प्रसाद निरौला पनि थिए ।

प्रधानमन्त्री ओलीले पक्राउ परेका अभियुक्तलाई तुरुन्त छाड्न निर्देशन दिएपछि उनीहरु पक्राउ परेको केही घण्टामै छुटेको खुलाशा भएको छ ।

उनीहरुलाई आज बिहान उपस्थित गराउने गरी हिजो राती ८ बजे छाडिएको र आइतबार विहान परिसरमा बोलाएर छलफल गरिएको स्रोतले बतायो ।


यद्धपी यस विषयमा प्रतिक्रिया लिन काठमाडौं प्रहरी प्रवक्ता प्रमेश विष्टलाई सम्पर्क गर्दा हल्ला मात्रै भएको बताए । ‘हल्लाको पछि नलागौँ । कानुन र अदालतले जे भन्छ त्यही हुन्छ,’ उनले भने ।
ठगिमा पक्राउ परेका खड्का सहितको समुह राजधानीको बानेश्वरमा रहेका ओलम्पिया कलेजका सञ्चालक हुन् ।

उनीहरुले नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा (कृष्णप्रसाद देवकोटा)लाई २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न बैना गरेका थिए । बैना बापतको २ करोड ७५ लाख रुपैयाँ लिएर लामो समय फिर्ता नगरेपछि देवकोटाले प्रहरीको सहारा लिनुपरेको थियो ।

पछिल्लो समय नयाँ पत्रिका दैनिकले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्दै आएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले ठगिका अभियुक्तलाई साथ दिएको स्रोत बताउँछ ।

२०७६ वैसाखमा देवकोटाले उनीहरुलाई जग्गा बैना स्वरुप २ करोड ७५ लाख रुपैयाँ बुझाएका थिए ।
देवकोटाले पटक पटक बैनाको रकम फिर्ता माग्दा पनि खड्का समुहले फिर्ता नदिएपछि उनले उजुरी दिएका थिए । तर, पक्राउ पुर्जी जारी भएपछि खड्का सहितका कलेजका सञ्चालकहरुले उक्त जग्गा अन्तै विक्री गरेको खुलेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपनि देवकोटाले जग्गा भने रोक्का गर्न चुकेका थिए । जग्गा रोक्का नभएको मौकामा खड्का समुहले जग्गा विक्री गरिदिएको पाइएको छ ।

नयाँ पत्रिका दैनिकको कार्यालयका लागि भन्दै देवकोटाले माधव नेपालको घर नजिकै रहेको जग्गा किन्न बैना दिएका थिए ।


दियोपोस्टसँग प्रतिक्रिया दिँदै देवकोटाले आफू ठगिएको स्विकार गरे । ‘अफिसलाई लिने भनेर जग्गा बैना गरिएको हो । बैनाको रकम पनि फिर्ता गरेनन् । न्याय परिषदका मान्छे विभिन्न ठाउँमा के–के मिलाए,’ देवकोटाले दियोपोस्टसँग भने,‘हिजो प्रहरीले पक्राउ गरेछ । मलाई थाहा थिएन । यो अदालती मामला साह्रै झ्याउ हुँदो रहेछ ।’

TATA ADD